काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म ४३ हजार ७५० थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण गरिएको छ। हालसम्म देशभर कुल ४१ लाख १४ हजार १८१ थान स्मार्ट लाइसेन्स वितरण भइसकेको सर्वेक्षणमा उल्लेख छ।
यस्तै, चालु आवको फागुनसम्म ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन गरिएकोमा पाँच हजार १८६ थान मात्र जडान गरिएको छ। हालसम्म कुल आठ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भए पनि ८८ हजार ३४० थान मात्रै जडान भएका छन्।
सरकारले इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई थप सरल, व्यवस्थित र प्रभावकारी बनाउन ‘इम्बोस्ड सवारी नम्बर प्लेट जडानसम्बन्धी निर्देशिका, २०८१’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जनाएको छ।
सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म बस, मिनिबस, ट्रक, माइक्रोबस, कार र मोटरसाइकललगायत दुई लाख ८१ हजार ९२१ सवारी साधन दर्ता भएका छन्।
हालसम्म देशभर दर्ता भएका सवारी साधनको संख्या ६२ लाख ४९ हजार ७३२ पुगेको छ। तीमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।


