काठमाडौं । सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन शाहले बजेट भाषणपछि प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने बताएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रतिपक्षी सांसदहरूले उठाउँदै आएको प्रधानमन्त्रीको उपस्थितिसम्बन्धी मागबारे सरकारसँग निरन्तर संवाद भइरहेको जानकारी दिएका हुन्।
प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री संसदमा उपस्थित भएर सदनमा उठेका विषयमा जवाफ दिनुपर्ने माग गर्दै लगातार विरोध जनाइरहेका छन्। त्यसक्रममा सभामुख अर्यालले उक्त माग संविधान, नियमावली र कानुनसम्मत रहेको बताए।
उनले प्रधानमन्त्री, सरकार, सत्तापक्ष तथा प्रतिपक्षी दलका नेताहरूसँग यस विषयमा पटक–पटक छलफल भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाह सदनमा आउने तयारीमा रहेको जानकारी दिए।
सभामुख अर्यालले केही दिनमै बजेट प्रस्तुत हुने भएकाले सोही सन्दर्भमा प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सांसदहरूको जिज्ञासा र प्रश्नको जवाफ दिने विश्वास व्यक्त गरे।
उनले भने, “प्रधानमन्त्रीज्यूले छिट्टै सदनमा उपस्थित भएर यहाँहरूले उठाउनुभएको प्रश्नको जवाफ दिनुहुनेछ।”
सभामुखको उक्त भनाइपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गनेश पौडेललाई पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिइएको थियो।
तर त्यसलगत्तै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत प्रतिपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उभिएर विरोध जनाएका थिए।
प्रतिपक्षी सांसदहरूको विरोधपछि सभामुख अर्यालले केही समयका लागि पर्यटनमन्त्री पौडेललाई विधेयक प्रस्तुत गर्न रोकेका थिए। उनले सांसदहरूलाई बस्न आग्रह गर्दै सरकार यस विषयमा जानकार रहेको र प्रधानमन्त्रीले जवाफ दिने तयारी गरिरहेको दोहोर्याए।
यद्यपि विरोध जारी रहेपछि सभामुखले फेरि पर्यटनमन्त्रीलाई विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए। त्यसपछि प्रतिपक्षीहरूको नाराबाजीबीच पर्यटनमन्त्री पौडेलले पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए।


