काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालले छिमेकी मुलुक, विकास साझेदार तथा मित्र राष्ट्रहरूसँग पारस्परिक सम्मान, सार्वभौम समानता र साझा समृद्धिको आधारमा सम्बन्ध अघि बढाइरहेको बताएका छन्।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काठमाडौं र नयाँदिल्लीस्थित युरोपेली संघ सदस्य राष्ट्रका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग भएको संयुक्त भेटमा प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिलाई पुनः दोहोर्याएका हुन्।
प्रधानमन्त्री शाहले नेपालको विकास प्रयासमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
उनले सुशासन सुनिश्चित गर्दै समावेशी आर्थिक समृद्धि हासिल गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउँदै विश्व बजारबाट लाभ लिन, प्रशासनिक प्रक्रियालाई सरल बनाउँदै थप लगानी आकर्षित गर्न, नवप्रवर्तनलाई प्रोत्साहन गर्न तथा दिगो विकास लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताए।
प्रधानमन्त्री शाहले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु कार्यवाही तथा पर्यटनलगायत क्षेत्रमा साझेदारी थप गहिरो बनाउन सरकार इच्छुक रहेको उल्लेख गरे।
भेटमा संयुक्त अरब इमिरेट्स, युरोपेली संघ, फिनल्याण्ड, नर्वे, म्यानमार, अष्ट्रेलिया, रुस, थाइल्याण्ड, स्विडेन, बेल्जियम, पोर्चुगल, साइप्रस, बुल्गेरिया, इस्टोनिया, नेदरल्यान्ड्स, स्पेन, इटाली, ग्रीस, डेनमार्क, रोमानिया, स्लोभेनिया, लक्जेम्बर्ग, अस्ट्रिया, स्लोभाकिया, ब्राजिल, मलेसिया, पोल्याण्ड तथा चेक गणतन्त्रका राजदूत तथा नियोग प्रमुखहरूको सहभागिता रहेको थियो।
राजदूत तथा नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै आफ्ना राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूको शुभकामना सन्देश हस्तान्तरण गरेका थिए। उनीहरूले नेपालसँगको सहकार्यका विभिन्न क्षेत्रबारे चर्चा गर्दै नयाँ सरकारलाई सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च सरकारी अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।


