सर्लाही । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर ले छोरीलाई शिक्षित, आत्मनिर्भर र सम्मानका साथ हुर्काउन अभिभावकलाई आग्रह गरेकी छन्।
सर्लाहीको चन्द्रनगर गाउँपालिका मा आयोजित दुई दिने ‘बाल विवाह एवं दाइजो प्रथा उन्मूलनका लागि बृहत् सभा’लाई आइतबार सम्बोधन गर्दै उनले विशेषगरी मधेश क्षेत्रमा गहिरो रूपमा जरा गाडेको बालविवाह र दाइजो प्रथाविरुद्ध अन्तिमसम्म संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
उनले समाज परिवर्तनका लागि छोरीको शिक्षा अत्यावश्यक रहेको उल्लेख गर्दै दाइजो र बालविवाह नेपाली समाजकै कलंक बनेको बताइन्। “छोरी शिक्षित भए परिवार मात्र होइन, समग्र समाज नै सशक्त बन्छ,” उनले भनिन्।
उपसभामुख ठाकुरले विवाहपछि परिवार विखण्डन हुनु, सम्बन्ध बिग्रिनु र सामाजिक तनाव बढ्नुमा दाइजो प्रथाले ठूलो भूमिका खेलेको उल्लेख गरिन्। दाइजो दुवै परिवारका लागि अभिशाप बनेको भन्दै उनले यसको अन्त्यका लागि सबै तहबाट संयुक्त अभियान आवश्यक रहेको धारणा राखिन्।
उनले पछिल्लो समय किशोर–किशोरी घर छाडेर हिँड्ने प्रवृत्ति बढ्दै गएकोप्रति पनि चिन्ता व्यक्त गरिन्। युवापुस्तालाई अभिभावकको सुझावलाई सकारात्मक रूपमा लिन र आवेगमा निर्णय नगर्न आग्रह गरिन्।
कार्यक्रममा सर्लाही क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद नीतिमा कार्की भण्डारी ले समाजमा रहेका कुरीति, कुसंस्कार र विभेद शिक्षा मार्फत मात्रै हटाउन सकिने बताइन्। उनले छोरीहरूको शिक्षामा विशेष ध्यान दिन आग्रह गर्दै शिक्षित छोरीले परिवार र समाज दुवैलाई सबल बनाउने धारणा व्यक्त गरिन्।


