काठमाडौं । अमेरिका र ईरान बीच महिनौँदेखि जारी सैन्य तथा कूटनीतिक तनावका बीच सम्भावित शान्ति सम्झौताको रूपरेखा सार्वजनिक हुन थालेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले दुई देशबीचको वार्ता अन्तिम चरणमा पुगेको दाबी गरेका छन्।
ईरानको अर्ध–सरकारी समाचार संस्था फार्स न्यूज का अनुसार वासिङ्टनले तेहरानसमक्ष पाँचवटा मुख्य सर्त अघि सारेको छ, जसमा अहिले सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ।
प्रस्तावित सम्झौतामा सबैभन्दा संवेदनशील विषय ईरानको परमाणु कार्यक्रम रहेको छ। अमेरिकी प्रस्तावअनुसार ईरानले आफूसँग रहेको करिब ४०० किलोग्राम उच्च संवर्धित युरेनियम अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने सर्त राखिएको छ। पश्चिमी राष्ट्रहरूले लामो समयदेखि उक्त युरेनियमलाई परमाणु हतियार निर्माणको सम्भावित जोखिमका रूपमा हेर्दै आएका छन्।
यससँगै अमेरिकाले ईरानको परमाणु संरचनामाथि कडा नियन्त्रणको प्रस्ताव पनि अघि सारेको बताइएको छ। प्रस्तावअनुसार ईरानले भविष्यमा एउटा मात्र परमाणु केन्द्र सञ्चालन गर्न पाउनेछ भने अन्य सबै परमाणु गतिविधि बन्द गर्नुपर्नेछ।
आर्थिक तथा कूटनीतिक पक्षमा पनि अमेरिकाले कडा अडान राखेको जनाइएको छ। हालैको द्वन्द्वमा भएको क्षतिको क्षतिपूर्ति नदिने र विदेशमा रोक्का राखिएको ईरानी सम्पत्ति तत्काल फुकुवा नगर्ने अमेरिकी अडान रहेको बताइएको छ।
यद्यपि, सुरक्षा सम्बन्धी एक महत्त्वपूर्ण बुँदामा भने अमेरिका र उसका सहयोगी राष्ट्रहरूले ईरान वा उसका समर्थित समूहहरूमाथि आक्रमण नगर्ने तथा त्यसको बदलामा ईरानले पनि अमेरिका र उसका साझेदार राष्ट्रविरुद्ध पूर्वआक्रमण नगर्ने समझदारीको प्रस्ताव गरिएको बताइएको छ।
यस विषयमा हालसम्म दुवै देशले औपचारिक पुष्टि गरेका छैनन्। यसअघि ईरानले पनि वार्ताका लागि आफ्नै पाँच सर्त अघि सारेको बताइएको थियो। ती सर्तमा क्षेत्रीय युद्ध अन्त्य, आर्थिक प्रतिबन्ध हटाउने, रोक्का सम्पत्ति फिर्ता गर्ने, युद्ध क्षतिपूर्ति उपलब्ध गराउने तथा होरमुज स्ट्रेट मा ईरानको सार्वभौमिकता स्वीकार गर्नुपर्ने माग समावेश रहेका थिए।
दुई देशबीचको तनाव गत फेब्रुअरी २८ मा चरम अवस्थामा पुगेको थियो, जब अमेरिका र इजरायल ले ईरानका विभिन्न सैन्य तथा रणनीतिक क्षेत्रमा आक्रमण गरेका थिए। त्यसपछि करिब ४० दिनसम्म द्वन्द्व जारी रहेको थियो।
अप्रिल ८ मा युद्धविराम भएपछि इस्लामाबाद मा प्रत्यक्ष वार्ता सुरु भएको र पाकिस्तान को मध्यस्थतामा अहिले सम्भावित शान्ति सम्झौता अन्तिम चरणतर्फ अघि बढिरहेको जनाइएको छ।


