काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजनामा आगामी अगस्त १५ र १६, २०२६ मा Crowne Plaza Guangzhou City Centre मा ११औँ एनआरएनए एशिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ आयोजना हुने भएको छ।
“Rising Together: Connecting the Nepali Diaspora for Investment, Tourism, and Generational Links” मूल नारासहित आयोजना हुन लागेको सम्मेलनले विश्वभर फैलिएका नेपाली डायस्पोरालाई नेपालसँग आर्थिक, सामाजिक तथा पुस्तान्तरणीय सम्बन्धमार्फत जोड्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
सम्मेलनको संयोजकत्व दीपक कँडेल लाई दिइएको छ।
ग्वाङझाउ मा हुने सम्मेलनमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, व्यापारिक साझेदारी, जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषि तथा पूर्वाधार विकासका विषयमा केन्द्रित छलफल गरिनेछ। साथै श्रमिक सुरक्षा, महिला उद्यमशीलता र युवा सहभागिताका विषयलाई पनि प्राथमिकता दिइने जनाइएको छ।
सम्मेलनमा दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवालाई भाषा, संस्कृति, पर्यटन तथा मातृभूमिसँग जोड्ने विषयलाई विशेष महत्व दिइएको छ। विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली युवालाई नेपालसँग भावनात्मक रूपमा जोड्ने उद्देश्यले संस्कृति, खेलकुद, साहसिक पर्यटन र ट्रेकिङसँग सम्बन्धित कार्यक्रमसमेत समावेश गरिनेछ।
दुई दिने सम्मेलनमा पाँचवटा विभिन्न सत्रमार्फत कार्यपत्र प्रस्तुत तथा विषयगत छलफल हुने आयोजकले जनाएको छ।
सम्मेलनको पहिलो दिन नेपाल र चीन सरकारका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागितामा उद्घाटन समारोह आयोजना हुनेछ। त्यसपछि “नेपालमा लगानीका सम्भावना र डायस्पोरा साझेदारी” विषयमा विशेष सत्र सञ्चालन गरिनेछ।
दोस्रो दिन पर्यटन प्रवर्द्धन, वैदेशिक रोजगारी, महिला तथा युवा उद्यमशीलता र पुस्तान्तरणीय सम्बन्धका विषयमा विशेष छलफल हुने जनाइएको छ। सम्मेलनको समापनमा “ग्वाङझाउ घोषणा–२०२६” जारी गरिनेछ, जसमा नेपाल सरकारलाई नीतिगत सुझाव तथा कार्ययोजना प्रस्तुत गरिने बताइएको छ।
आयोजकका अनुसार सम्मेलनमा ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ। सम्मेलनमा एनआरएनए नेतृत्व, लगानीकर्ता, व्यवसायी, कूटनीतिज्ञ, सरकारी अधिकारी तथा दोस्रो पुस्ताका नेपाली युवाहरू सहभागी हुनेछन्।


