काठमाडौं । नेपालमा पछिल्लो समय वृद्धवृद्धामात्र होइन, युवायुवतीमा समेत हृदयघात र मुटुरोगको समस्या तीव्र रूपमा बढ्न थालेको छ। जनचेतनाको कमी, अनियमित जीवनशैली तथा समयमै स्वास्थ्य परीक्षण नगर्ने प्रवृत्तिका कारण मुटुरोगबाट हुने असामयिक मृत्यु बढ्दो क्रममा रहेको चिकित्सकहरू बताउँछन्।
विश्वभरकै प्राणघातक रोगमध्ये मुटुरोग अग्रस्थानमा रहने गरेको छ भने नेपालमा पनि मृत्युका प्रमुख कारणमध्ये मुटुरोग एक बनेको छ। प्रारम्भिक लक्षणलाई बेवास्ता गर्ने, नियमित जाँच नगर्ने तथा उपचारमा ढिलाइ गर्ने कारण धेरै बिरामी जटिल अवस्था पुगेपछि मात्र अस्पताल पुग्ने गरेका छन्।
यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा मुटुरोग विशेषज्ञ डा. मिलन श्रेष्ठ ले मुटुमा ब्लक भएको शंका लागेमा सुरुमा ट्रेडमिल टेस्ट (TMT) गरिने बताए।
उनले भने, “सुरुमा मुटुमा ब्लक छ वा छैन भन्ने शंका लागेमा ट्रेडमिल टेस्ट गरिन्छ। यदि त्यसको रिपोर्टमा समस्या देखियो वा ब्लक भएको आशंका भयो भने एन्जियोग्राम गर्न सल्लाह दिइन्छ।”
उनका अनुसार मुटुको रक्तनलीमा अवरोध भएको पुष्टि गर्न एन्जियोग्राफी गरिन्छ। यो परीक्षण क्याथल्याबमा विशेष प्रविधिबाट गरिने उनले बताए।
डा. श्रेष्ठका अनुसार एन्जियोग्राम गर्दा हातबाट सानो तार छिराएर मुटुको रक्तनलीसम्म पुर्याइन्छ र विशेष औषधि प्रयोग गरी क्यामेरामार्फत रक्तनलीको अवस्था हेर्ने गरिन्छ। यसबाट ब्लक कहाँ र कति छ भन्ने स्पष्ट रूपमा पत्ता लगाउन सकिन्छ।
उनले भने, “मुटुमा ब्लक भएको संकेत देखिएमा त्यसलाई पोजेटिभ टेस्ट मानिन्छ। त्यसपछि एन्जियोग्राफी गरेर ब्लकको अवस्था हेर्छौं। यदि ब्लक देखिएमा सोही आधारमा उपचार गरिन्छ।”
उनका अनुसार मुटुको ब्लक जाँच गर्ने प्रक्रियालाई एन्जियोग्राम भनिन्छ भने ब्लक खोल्ने उपचारलाई एन्जियोप्लास्टी भनिन्छ। आवश्यक परेमा स्टेन्टसमेत राखिने उनले जानकारी दिए।
डा. श्रेष्ठले यो प्रक्रिया धेरै जटिल नभएको उल्लेख गर्दै बिरामीलाई धेरै पीडा नहुने र सामान्यतया १० देखि १५ मिनेटमै परीक्षण सम्पन्न गर्न सकिने बताए।
उनले भने, “विशेष ल्याबमा बिरामीलाई सुताएर क्यामेरा र विशेष उपकरणको सहायताले मुटु तथा रक्तनलीको अवस्था हेरिन्छ। स्क्रिनमा आएको इमेज विश्लेषण गरेर ब्लक छ वा छैन भन्ने पत्ता लगाइन्छ। यदि ब्लक भएमा यही प्रविधिबाट एन्जियोप्लास्टी गरी उपचार पनि गरिन्छ।”


