काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ। यसको असरका कारण देशभर सामान्यदेखि पूर्ण बदली भएको मौसमविद्ले बताएका छन्।
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा वर्षासँगै हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यसैबीच, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ।
आज राति भने कोशी प्रदेशसहित अन्य हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।


