Wednesday, May 20, 2026
Homeसामाचारबाजुरामा भ्रमण टोलीमाथि आक्रमण, पाँच जना घाइते

बाजुरामा भ्रमण टोलीमाथि आक्रमण, पाँच जना घाइते

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा मंगलबार दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितको टोली अपि सैपाल हिमालको आधार शिविर रानीसैन क्षेत्रको भ्रमणमा गएको बेला घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार घाइते हुनेमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा सदस्य पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिनु कुँवर तथा प्रहरी चौकी बिच्छ्यामा कार्यरत महेश धामी रहेका छन्। उनीहरूको ढाड, गर्धन, छाती र खुट्टामा सामान्य चोट लागेको जनाइएको छ।

‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियानअन्तर्गत मेयर गोपाल हमाल, हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की लगायत करिब ४० जनाको टोली रानीसैनतर्फ गइरहेका बेला विवाद भएको हो।

प्रहरीका अनुसार ड्रोनबाट भिडियो खिच्ने क्रममा हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँका स्थानीयसँग विवाद सुरु भएको थियो। त्यसपछि वादविवाद बढ्दै हातपातमा परिणत हुँदा झडप भएको जनाइएको छ।

घटनापछि भ्रमण टोली गन्तव्यसम्म नपुगी फर्किएको थियो।

लाम्पाटा, च्याचौर र रानीसैन क्षेत्रलाई लिएर बाजुरा र हुम्लाका स्थानीयबीच लामो समयदेखि सीमा सम्बन्धी विवाद रहँदै आएको छ। बाजुराका स्थानीयले उक्त क्षेत्र नापी, लालपुर्जा तथा प्रशासनिक अभिलेखअनुसार बाजुराअन्तर्गत पर्ने दाबी गर्दै आएका छन्।

यस क्षेत्रमा शान्ति सुरक्षाका लागि अस्थायी प्रहरी चौकी निर्माणको काम भइरहेको छ। प्रहरी चौकी निर्माण र सीमा विवादकै कारण तनाव उत्पन्न भएको स्थानीय प्रशासनको भनाइ छ।

घटनापछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएका छन् भने दोषीमाथि कारबाहीको माग समेत गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका