काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले नाइजेरियाली सेनासँगको संयुक्त कारबाहीमा विश्वको सबैभन्दा सक्रिय आतंकवादीमध्ये एकलाई मारिएको दाबी गरेका छन्।
ट्रम्पका अनुसार उक्त कारबाही इस्लामिक स्टेट सँग सम्बन्धित उच्चस्तरीय नेतामाथि लक्षित थियो। उनले उक्त व्यक्ति अफ्रिकामा सक्रिय संगठनको दोस्रो उच्च अधिकारी भएको बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेख्दै अमेरिकी सेना र नाइजेरियाली सेनाले समन्वयमा “सुनियोजित र कठिन अभियान” सफलतापूर्वक सम्पन्न गरेको दाबी गरेका छन्।
उनका अनुसार अबु–बिलाल अल–मिनुकी नामक उक्त व्यक्ति अफ्रिकामा लुकेर बसेको आईएसआईएसको दोस्रो नम्बरको नेता थियो र उसको मृत्युले संगठनको विश्वव्यापी संरचना कमजोर भएको छ।
ट्रम्पले उक्त व्यक्तिले अफ्रिकामा आक्रमण र आतङ्क फैलाउने योजना बनाइरहेको आरोप पनि लगाएका छन्। उनका अनुसार अब उसको गतिविधि समाप्त भएको छ।
अमेरिकी राष्ट्रपतिले यस कारबाहीमा सहयोग गरेको भन्दै नाइजेरियाली सरकारलाई धन्यवाद समेत दिएका छन्।


