Saturday, May 16, 2026
Homeसामाचारबारामा राजमार्ग अतिक्रमण हटाइयो, दुई घरधुरी मात्र वास्तविक सुकुमबासी भएको दाबी

बारामा राजमार्ग अतिक्रमण हटाइयो, दुई घरधुरी मात्र वास्तविक सुकुमबासी भएको दाबी

बारा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको ३ नम्बर पुल क्षेत्रमा गरिएको अतिक्रमण हटाउने क्रममा दुई घरधुरी मात्र वास्तविक सुकुमबासी भएको प्रारम्भिक रूपमा खुलेको छ।

डिभिजन वन कार्यालय बाराको नेतृत्वमा स्थानीय प्रहरी प्रशासन, पर्सा राष्ट्रिय निकुञ्ज, वनरक्षक, कर्मचारी तथा सडक डिभिजन कार्यालय हेटौँडाको संयुक्त टोलीले शुक्रबार अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको हो।

वन कार्यालयका अनुसार महेन्द्र राजमार्गको दायाँबायाँ २५–२५ मिटर सडक क्षेत्रबाहेक वनदेवी सामुदायिक वन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र अतिक्रमण गरेर बसोबास गर्दै आएका ३५ घरधुरी हटाइएका छन्।

वन अधिकृत ललन राउत का अनुसार हटाइएका ३५ घरधुरीमध्ये प्रारम्भिक जानकारीमा दुई परिवारको मात्र अन्यत्र बसोबास नभएको पाइएको छ।

उनले भने, “सबैको सामान हेटौँडातर्फ गइरहेको छ। अहिलेसम्म वास्तविक सुकुमबासी धेरै भेटिएका छैनन्।”

वन कार्यालयले अतिक्रमण हटाउनुअघि करिब दुई साताअघि नै अन्यत्र घरबास नभएका व्यक्तिहरूलाई स्थानीय तहमा जानकारी गराउन सूचना दिएको जनाएको छ।

यो क्षेत्रमा महेन्द्र राजमार्ग सञ्चालनमा आएपछि, अर्थात् २०३५ सालदेखि नै होटल व्यवसाय सञ्चालन हुँदै आएको थियो। अधिकांश होटल सञ्चालक हेटौँडाका स्थायी बासिन्दा रहेको वन कार्यालयले जनाएको छ।

डिभिजन वन अधिकृत सुजित कुमार झा का अनुसार सडक, वन तथा निकुञ्ज क्षेत्र अतिक्रमण गरी बसोबास गर्ने अधिकांश व्यक्तिको अन्यत्र घरजग्गा रहेको पाइएको छ।

उनले भने, “३५ घरधुरीमध्ये धेरैको हेटौँडा र पथलैयामा घर रहेछ। यदि घरजग्गा नभएका कोही हुनुहुन्छ भने सम्पर्कमा आउनुस्, हामी स्थानीय तहलाई पत्र लेखिदिनेछौँ। वन ऐन, २०७६ ले को भूमिहीन र को सुकुमबासी भनेर छुट्याउँदैन। कानुनले अतिक्रमण गर्नेलाई कारबाही गर्न भन्छ।”

वन कार्यालयका अनुसार आजदेखि सुरु गरिएको अतिक्रमण हटाउने अभियानबारे विभिन्न क्षेत्रबाट चासो व्यक्त भइरहेको छ। वास्तविक सुकुमबासीहरूले प्रमाणसहित आए सहयोग गरिने पनि कार्यालयले जनाएको छ।

अतिक्रमण हटाउने क्रममा स्थानीयले सामान सार्न १५ दिनको समय माग गरेका थिए। तर सडक डिभिजन कार्यालय हेटौँडा र वन कार्यालयले वैशाख पहिलो सातामै तीन दिने सूचना जारी गर्दै पथलैया–अम्लेखगञ्ज–चुरियामाई मन्दिरसम्म वन क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन दिएका थिए।

पटक–पटकको सूचनालाई बेवास्ता गरेपछि शुक्रबार बल प्रयोग गरेर क्षेत्र खाली गराइएको हो।

यो क्षेत्र बारा र मकवानपुरको सीमावर्ती क्षेत्रमा पर्छ। शेखरकाजी रुम्बा ले केही घरधुरीले वैकल्पिक जग्गाको माग गरेको जानकारी दिए।

उनले भने, “अन्यत्र जग्गाजमिन नभएका केही परिवारले हामीसँग जग्गा उपलब्ध गराइदिन आग्रह गरेका छन्।”

शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको अतिक्रमण हटाउने कार्य साँझ ६ बजेसम्म चलेको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका