Friday, May 15, 2026
Homeअन्तराष्ट्रियविश्वकप हेर्न जाने दर्शकलाई अमेरिकाको ठूलो राहत, १५ हजार डलर धरौटी मिनाहा

विश्वकप हेर्न जाने दर्शकलाई अमेरिकाको ठूलो राहत, १५ हजार डलर धरौटी मिनाहा

काठमाडौं। सन् २०२६ को फिफा विश्वकप फुटबल हेर्न अमेरिका जाने दर्शकहरूका लागि ट्रम्प प्रशासनले ठूलो राहत घोषणा गरेको छ। अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुने विश्वकपका वैध टिकट भएका ५० देशका नागरिकलाई १५ हजार डलर बराबरको भिसा धरौटी मिनाहा गरिने भएको हो।

यसअघि अमेरिकाले भिसाको म्याद नाघेर बस्ने प्रवृत्ति नियन्त्रण गर्न केही देशका नागरिकलाई अमेरिका प्रवेश गर्दा ठूलो रकम धरौटी राख्नुपर्ने व्यवस्था लागू गरेको थियो। उक्त सूचीमा नेपाल पनि समावेश भएकाले नयाँ निर्णयबाट नेपाली फुटबल समर्थकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्।

अमेरिकी सहायक विदेशमन्त्री मोरा नाम्दारका अनुसार विश्वकपको टिकट खरिद गरेका र योग्य ठहरिएका दर्शकहरूले मात्र यो सुविधा पाउनेछन्। यसका लागि दर्शकहरूले अप्रिल १५ भित्र ‘फिफा पास’ मा आफ्नो नाम दर्ता गरिसकेको हुनुपर्नेछ। दर्ता भएका व्यक्तिहरूले मात्र भिसा अन्तर्वार्ताको समय पाउने व्यवस्था गरिएको छ।

यसअघि सहभागी टोलीका खेलाडी र प्रशिक्षकलाई यस्तो छुट दिइएको भए पनि दर्शकहरूका लागि भने बुधबार मात्र निर्णय सार्वजनिक गरिएको हो।

धरौटी मिनाहा पाउने ५० देशमध्ये एल्जीरिया, काबु भेअर्ड, आइभरी कोस्ट, सेनेगल र ट्यूनिशिया यसपटकको विश्वकपका लागि छनोट भएका राष्ट्रहरू हुन्। तर इरान र हेइटीका सर्वसाधारण नागरिकलाई भने अमेरिकाले प्रवेश अनुमति नदिने जनाएको छ। ती देशका खेलाडी र प्रशिक्षकले भने भ्रमण अनुमति पाउनेछन्।

गत वर्ष अगस्टदेखि लागू गरिएको यो नमुना कार्यक्रमले धेरै यात्रुहरूलाई आर्थिक रूपमा कठिन बनाएको थियो। अमेरिका भ्रमणपछि फर्किँदा धरौटी रकम फिर्ता हुने व्यवस्था भए पनि सुरुमै ठूलो रकम जम्मा गर्नुपर्ने बाध्यताले धेरैलाई समस्या परेको थियो।

फिफाले अमेरिकी प्रशासनको यस निर्णयको स्वागत गर्दै यसले विश्वकपलाई अझ सफल र ऐतिहासिक बनाउन सहयोग पुग्ने जनाएको छ।

यता अमेरिकाले भिसा आवेदन दिने व्यक्तिको सामाजिक सञ्जालमा भएका पछिल्ला पाँच वर्षका गतिविधि जाँच गर्ने नीति भने कायम राखेको छ। मानवअधिकारवादी समूहहरूले यसबाट गोपनीयताको अधिकार प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

अमेरिकी विदेश मन्त्रालयले भने विश्वकपका दर्शकलाई यात्रा सहज बनाउँदा पनि राष्ट्रिय सुरक्षालाई प्राथमिकतामा राखिएको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका