काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले माध्यमिक तहमा शिक्षक दरबन्दी नबढाइएको विषय उठाउँदै राहत कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा रूपान्तरण गर्न सरकारसँग आग्रह गरेका छन् ।
बिहीबार सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पुनले २०५६ सालयता माध्यमिक शिक्षामा शिक्षक दरबन्दी वृद्धि नभएको बताए । उनका अनुसार हाल देशभर करिब ४५ हजार शिक्षक राहत कोटामा कार्यरत छन् ।
उनले राहत कोटामा कार्यरत शिक्षकलाई स्थायी दरबन्दीमा समायोजन गर्नुपर्ने आवश्यकता औंल्याए ।
सांसद पुनले भने, “शिक्षामा सुधार गर्न माध्यमिक तहमा शिक्षक दरबन्दी बढाउन आवश्यक छ । राहत कोटामा रहेका शिक्षकहरू असुरक्षित महसुस गर्छन् । उनीहरू जीविकोपार्जनका लागि अर्को विकल्प खोज्न बाध्य हुन्छन्, जसले शिक्षणमा पनि असर पर्छ ।”
संसद्मा आफू विद्यार्थीको भूमिकामा रहेको उल्लेख गर्दै पुनले आफूलाई ‘माननीय’ भन्दा पनि सिक्ने व्यक्तिका रूपमा हेर्ने गरेको बताए ।
उनले संसद्मा विभिन्न सांसदबाट धेरै कुरा सिक्न पाएको उल्लेख गर्दै भने, “हिजोसम्म पढ्न नपाएको कुरा आज यहाँ आएर सिक्न पाइरहेको छु । विभिन्न माननीयज्यूहरूबाट धेरै सुझाव र अनुभव सुन्न पाएकोमा धन्यवाद दिन चाहन्छु ।”


