काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत र अमेरिका पठाउने बहानामा लाखौँ रुपैयाँ ठगी गरी मानव तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले दाङको शान्तिनगर गाउँपालिका–३ का २६ वर्षीय लोकमान खत्रीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सल्यानसँगको समन्वयमा सोमबार पक्राउ परेका खत्रीलाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
पीडित युवालाई सुरुमा २५ लाख रुपैयाँमा भिजिट भिसामा बेलायत पठाउने र पछि वर्किङ भिसामा परिवर्तन गरी मासिक २ लाख कमाइ हुने प्रलोभन देखाइएको थियो।
पछि भिसा प्रक्रियाका नाममा ४ लाख रुपैयाँ लिइएको र भिसा नआएको बहानामा सुरक्षित हवाई मार्गबाट अमेरिका पठाउने आश्वासन दिइएको प्रहरीले जनाएको छ। अमेरिका पठाउन ४५ लाख लाग्ने भनिए पनि पीडितबाट पटक–पटक गरी कुल ६५ लाख २६ हजार ७८० रुपैयाँ असुल गरिएको खुलेको छ।
रकम लिएपछि पीडितलाई २०८१ भदौ १८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पठाइएको थियो। त्यसपछि भारत, नेपाल, कतार, स्पेन, ब्राजिल, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, हन्डुरस हुँदै मेक्सिकोको जोखिमपूर्ण अवैध मार्ग प्रयोग गरी अमेरिका पुर्याइएको थियो।
अवैध रूपमा अमेरिका प्रवेश गरेको आरोपमा त्यहाँको प्रहरीले पीडितलाई पक्राउ गरी १४ महिनासम्म जेलमा राखेको थियो। पछि २०८२ चैत २४ गते डिपोर्ट गरी नेपाल फिर्ता पठाइएको थियो।
नेपाल फर्किएपछि पीडितले दिएको जाहेरीका आधारमा खत्रीलाई नियन्त्रणमा लिइएको हो। प्रारम्भिक अनुसन्धान अनुसार उनीविरुद्ध यसअघि पनि ठगी मुद्दा दर्ता भएको र धरौटीमा रिहा भएको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले यस घटनामा अन्य व्यक्तिहरूको संलग्नता हुन सक्ने आशङ्कामा थप अनुसन्धान गरिरहेको जनाएको छ।


