Monday, May 11, 2026
Homeराजनीतिमाओवादीबाट रास्वपासम्म : रहबर अन्सारीको १६ वर्षे राजनीतिक यात्रा र परिवर्तनको एजेन्डा

माओवादीबाट रास्वपासम्म : रहबर अन्सारीको १६ वर्षे राजनीतिक यात्रा र परिवर्तनको एजेन्डा

काठमाडौं । बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा उद्योग, वाणिज्य र श्रम समितिका सभापति रहबर अन्सारीले आफ्नो राजनीतिक यात्रा, विचार परिवर्तन र वर्तमान राजनीतिक लक्ष्यबारे खुला रूपमा धारणा राखेका छन् ।

१६ वर्षसम्म माओवादी आन्दोलन र राजनीतिमा सक्रिय रहेका अन्सारीले पार्टी नेतृत्वको व्यवहार र सिद्धान्तबीच ठूलो अन्तर देखेपछि नयाँ राजनीतिक बाटो रोजेको बताएका छन् । परिवर्तनको आकांक्षा बोकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका उनी अहिले संसद्मा सक्रिय भूमिकामा छन् ।

अन्सारीका अनुसार उनको परिवारको राजनीतिसँग कुनै सम्बन्ध थिएन । सरकारी चिकित्सक रहेका बुबाले उनलाई डाक्टर वा बैंक व्यवस्थापक बनाउने चाहना राखे पनि समाजमा देखिएको असमानताले आफूलाई राजनीतितर्फ आकर्षित गरेको उनले बताए ।

वि.सं. २०६६ सालमा नेकपा (माओवादी केन्द्र) मा आबद्ध भएका अन्सारीले त्यतिबेला राजनीतिक परिवर्तनमार्फत समाज परिवर्तन सम्भव हुने विश्वास गरेका थिए । तर समयसँगै नेताहरूको जीवनशैली र जनताप्रतिको व्यवहारले आफू निराश भएको उनको भनाइ छ ।

‘राजनीति जनताको जीवन बदल्नका लागि हुनुपर्छ । यदि राजनीति नै जनताबाट टाढा भयो भने त्यसको अर्थ समाप्त हुन्छ,’ उनले भने ।

अन्सारीले अहिले नेपाली जनताको राजनीतिक चेतना धेरै माथि पुगेको उल्लेख गर्दै नेताको भाषणभन्दा व्यवहारलाई जनताले बढी मूल्यांकन गर्न थालेको बताए । पछिल्लो निर्वाचन परिणामलाई उनले जनताको चेतनात्मक विद्रोहको रूपमा व्याख्या गरे ।

उनका अनुसार आफ्नो क्षेत्रमा विभिन्न दलका समर्थकहरूले परिवर्तनको अपेक्षासहित आफूलाई मतदान गरेका थिए । ‘जनताले सबै पार्टीका सभा सुने, नेताहरूको भाषण पनि सुने, तर अन्ततः मत घण्टीमा खस्यो,’ उनले भने ।

रास्वपा रोज्नुको कारणबारे बोल्दै अन्सारीले परिवर्तन चाहने, इमान्दार र जनमुखी राजनीति गर्ने मानिसहरू एक ठाउँमा जुटेकाले आफूलाई यो पार्टी उपयुक्त लागेको बताए ।

समानुपातिक प्रणालीबाट सहजै सांसद बन्न सक्ने अवस्था हुँदाहुँदै पनि प्रत्यक्ष निर्वाचन रोज्नुको कारण जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने चाहना रहेको उनले बताए ।

‘म मालिक बन्न होइन, जनताको प्रतिनिधि बन्न राजनीतिमा आएको हुँ,’ उनले भने ।

अन्सारीले विगतको राजनीतिले जनतालाई निराश बनाएको उल्लेख गर्दै अहिले सामान्य सुधारले पनि जनतामा ठूलो आशा पैदा गरिरहेको बताए ।

उनले बारा–४ क्षेत्रमा औद्योगिक प्रदूषणलाई प्रमुख समस्याका रूपमा उठाउँदै उद्योगबाट निस्कने धुँवा, फोहोर र वातावरणीय असर नियन्त्रण आफ्नो प्राथमिकतामा रहेको बताए ।

‘सफा हावा, सफा पानी र स्वस्थ वातावरणमा बाँच्ने अधिकार जनताको आधारभूत अधिकार हो,’ उनले भने ।

उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिलाई समाधानमुखी र प्रभावकारी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले समितिलाई केवल प्रतिवेदन बनाउने संरचनामा सीमित नराख्ने बताए ।

प्रधानमन्त्रीसँगको समन्वयबारे उठ्ने प्रश्नमा उनले सरकार र सांसदबीच अहिले प्रभावकारी सहकार्य भइरहेको दाबी गरे । मधेश प्रदेशका सांसदहरूले उठाएका विषयमा सरकारले काम गर्न थालेको अनुभव आफूले गरेको उनले बताए ।

अन्सारीले आगामी २० वर्षभित्र नेपाललाई समृद्ध, जिम्मेवार र जनमुखी राजनीतिक संस्कार भएको देशका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि व्यवहारिक राजनीति, जवाफदेहिता र नीतिगत सुधार आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका