काठमाडौं । हाल नेपालमा पश्चिमी वायू, स्थानीय वायू र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै, मध्य र पूर्वी भूभागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने देशका अन्य भूभागमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा तथा लुम्बिनी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। देशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्। ती प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने पनि महाशाखाले जनाएको छ।
मौसमविद्ले वर्षा, चट्याङ र हिमपातका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।


