काठमाडौँ । रामकृष्ण ढकाल ले सामाजिक सञ्जालमार्फत आफ्नो व्यक्तिगत चरित्रहत्या गरिएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।
आफूविरुद्ध भ्रामक प्रचार, गालीगलौज तथा मानहानि गरिएको भन्दै उनले बिहीबार उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ। साइबर ब्युरोका एसपी दिलीप कुमार गिरी ले उजुरी परेको पुष्टि गरेका छन्।
ढकालले सामाजिक सञ्जालमा फैलाइएको सामग्रीले आफ्नो व्यक्तिगत जीवन र पेशागत प्रतिष्ठामा गम्भीर असर पुगेको उल्लेख गर्दै संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।
पछिल्लो समय फेसबुकलगायत सामाजिक सञ्जालमा उनीविरुद्ध विभिन्न आलोचनात्मक तथा अपमानजनक पोस्टहरू सार्वजनिक भइरहेका छन्। विशेषगरी जनप्रदर्शनका क्रममा रवि लामिछाने लाई नख्खु कारागारबाट निकाल्ने क्रममा उनले गाडी चलाएको भन्ने विषयलाई लिएर सामाजिक सञ्जालमा व्यापक टिप्पणी भइरहेको छ।
उजुरीबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै ढकालले यस्ता गतिविधिले आफूलाई मानसिक तनावसमेत दिएको बताएका छन्। साथै, जापानबाट सञ्चालित एक फेसबुक पेजमार्फत निरन्तर आफूविरुद्ध दुष्प्रचार भइरहेको दाबी गर्दै उनले सम्बन्धित फेसबुक आईडीबारे अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन्।


