बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुल का किसान लीलाधर जैसी को केराबारीमा अहिले दैनिक व्यापारीको भीड लाग्ने गरेको छ। स्थानीय जातको केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनहुँ बारीमै पुग्ने गरेका छन्।
पछिल्लो छ महिनायता किसानहरूले केरा बेच्न बजार जानुपर्ने अवस्था छैन। व्यापारीहरू आफैं बारीमा पुगेर केरा काट्ने, गन्ती गर्ने र त्यहीँ पैसा बुझाउने गरेका छन्, जसले किसानहरू उत्साहित भएका छन्।
भारतीय केराको आयात घटेसँगै स्थानीय केराको मूल्य उल्लेखनीय रूपमा बढेको छ। पहिले प्रतिदर्जन ६०–८० रुपैयाँमा बिक्री हुने केरा अहिले करिब १०० रुपैयाँ पुगेको छ।
जैमिनी नगरपालिका क्षेत्रका किसानहरूले पनि केराबाट राम्रो आम्दानी गर्न थालेका छन्। ईश्वरीप्रसाद शर्मा र मोतीप्रसाद शर्मा जस्ता किसानका अनुसार यस वर्ष केराको माग र मूल्य दुवै उच्च छन्।
पहिले कोदो र मकै खेती हुने जमिनमा अहिले केराखेती विस्तार हुँदै गएको छ। किसानहरूले गाईभैँसी पालन गरेर मलको व्यवस्था गर्ने र पानी बचत गरेर सिँचाइ गर्ने गरेका छन्।
स्थानीय जातका रामरेखे, मालबोक, मुङ्ग्रे, ध्रुसे, फुस्रे, जहाजी र चिनीकेरा जस्ता प्रजातिको उत्पादन भइरहेको रविन्द्र शर्मा ले जानकारी दिए।
व्यवसायी सागर सुवेदी का अनुसार स्थानीय केरा स्वादिलो, सुरक्षित र लामो समय टिक्ने भएकाले बजारमा यसको माग बढेको हो। हाल बजारमा स्थानीय केरा प्रतिदर्जन १२० देखि १८० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
स्थानीय सरकारले पनि केराखेती प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। जैमिनी नगरपालिका ले ‘शेरा जाउँ, केरा खाऔँ’ अभियान सञ्चालन गर्दै किसानलाई बीउ, मल र बजारीकरणमा सहयोग गरिरहेको जनाएको छ।


