Friday, May 1, 2026
Homeसामाचारबल्खु–वंशीघाटमा अवैध बस्ती हटाउन सुरु, ६८६ संरचना भत्काइँदै

बल्खु–वंशीघाटमा अवैध बस्ती हटाउन सुरु, ६८६ संरचना भत्काइँदै

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका नदी किनारालाई अतिक्रमणमुक्त बनाउने र सम्भावित बाढी जोखिमबाट नागरिकलाई जोगाउने उद्देश्यले सरकारले आजदेखि बल्खु र वंशीघाट क्षेत्रका अनधिकृत बस्ती हटाउन सुरु गरेको छ।

बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमपूर्ण संरचना हटाउने अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न सरोकारवाला निकायसँगको समन्वयमा यो कार्य अघि बढाएको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार वर्षायाम नजिकिँदै जाँदा नदी तटीय क्षेत्रमा हुन सक्ने मानवीय र भौतिक क्षतिलाई ध्यानमा राख्दै अभियान सञ्चालन गरिएको हो।

आजको अभियानमा बल्खु र वंशीघाट क्षेत्रका गरी कुल ६८६ वटा संरचना हटाउने लक्ष्य राखिएको छ। यसमध्ये बल्खु क्षेत्रमा रहेका ४८६ वटा टहरा र वंशीघाटका २०० वटा अवैध संरचना डोजर प्रयोग गरी भत्काउन सुरु गरिएको छ।

बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा सञ्चालन गरिएको यस अभियानले नदीको प्राकृतिक बहाव क्षेत्र पुनःस्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। सरकारले बर्खायाममा हुने डुबान र बाढीबाट नागरिकको जीउधनको रक्षा गर्नु आफ्नो प्राथमिकता रहेको स्पष्ट पारेको छ।

बल्खु र वंशीघाटको काम सम्पन्न भएपछि यो अभियान शङ्खमूललगायत माथिल्लो तटीय क्षेत्रमा पनि विस्तार गरिने बताइएको छ। बागमती सभ्यता संरक्षण र शहरी सौन्दर्यकरणका लागि नदी किनारका अवरोधहरू क्रमशः हटाउने दीर्घकालीन योजना सरकारको रहेको छ।

यद्यपि, वास्तविक सुकुम्वासीहरूको हकमा भने सरकारले मानवीय दृष्टिकोण अपनाउने जनाएको छ। उनीहरूको पहिचान र सुरक्षित व्यवस्थापनको स्पष्ट खाका तयार भएपछि मात्र अन्य क्षेत्रमा हटाउने प्रक्रिया अघि बढाइनेछ।

यस अभियानले काठमाडौंका नदीहरूलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका