काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता इन्ट्रीका लागि एक हप्ता थप समय दिने निर्णय गरेको छ।
बुधबार सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
निर्णयअनुसार १५औँ महाधिवेशनका लागि जिल्ला कार्यसमितिबाट क्रियाशील सदस्यता नवीकरण तथा प्रतिनिधि सभा क्षेत्रबाट नयाँ सदस्यता डिजिटल प्रणालीमा प्रविष्ट गरी शुल्कसहित केन्द्रीय कार्यालयमा नबुझाएका जिल्ला र क्षेत्रलाई वैशाख १६ गतेदेखि एक हप्ताको समय दिइनेछ।
बैठकले तोकिएको मितिदेखि सदस्यता व्यवस्थापनका लागि डिजिटल प्रणाली खुला गर्ने निर्णय पनि गरेको छ। अनलाइन सदस्यता खुला गरिएको जानकारी पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरिने जनाइएको छ।
नेपाली नागरिकता भएका व्यक्तिलाई जनसम्पर्क समिति सदस्यता र क्रियाशील सदस्यता उपलब्ध गराउने व्यवस्था मिलाइने निर्णय गरिएको छ। अन्यका हकमा पार्टीको विधान २०१७ (एघारौँ संशोधनसहित) बमोजिम प्रक्रिया अपनाइनेछ।
त्यस्तै, विभिन्न कारणले रिक्त रहेका वडा सभापतिहरूको सन्दर्भमा क्रियाशील सदस्यता अद्यावधिक गर्न जिल्ला तथा क्षेत्रीय केन्द्रीय प्रतिनिधिको समन्वयमा वडा कार्यसमितिले तोकेको व्यक्तिमार्फत विवरण अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको छ।


