काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना जनप्रतिनिधिहरूको कार्यशैली र आगामी चुनावी तयारीलाई लक्षित गर्दै नयाँ आन्तरिक निर्देशिका जारी गरेको छ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा पार्टी सभापति रवि लामिछानेले सांसदहरूलाई आधिकारिक लेटरहेड, कार्ड र कागजातहरूमा एकरूपता ल्याउन निर्देशन दिएका हुन्।
संसदीय अभ्यासमा देखिने तामझाम घटाउन उनले कुनै पनि कागजातमा ‘माननीय’ सम्बोधन प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकमा पार्टीको सांगठनिक सुदृढीकरण र सांसदहरूको क्षमता अभिवृद्धिका विषयमा पनि छलफल भएको छ। सांसदहरूलाई संसदीय प्रक्रिया र नीति निर्माणमा अझ दक्ष बनाउन मेन्टर र सल्लाहकारको सहयोग लिन सुझाव दिइएको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै योग्य उम्मेदवार चयनका लागि ‘क्यान्डिडेट क्लब’ अवधारणा अघि सारिएको छ। वैशाख २० गतेदेखि सुरु हुने यो अभ्यासले उम्मेदवार छनोट र प्रशिक्षण प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
टिकट वितरणबारे पनि पार्टीले कडा नीति लिएको छ। कुनै पनि सांसदले व्यक्तिगत रूपमा टिकट दिने आश्वासन दिन नपाउने निर्णय गरिएको छ। यस्ता गतिविधि गरेको पाइएमा कारबाही गरिने चेतावनी दिइएको छ।
बैठकमा सरकारले संसद् अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउने कदमबारे पनि छलफल भएको छ। सो सन्दर्भमा रास्वपाले आफ्नो संसदीय भूमिका प्रभावकारी बनाउने र सरकारलाई जवाफदेही बनाउने उपायबारे सांसदहरूसँग सुझाव संकलन गरेको जनाएको छ।


