काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको असरका कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली देखिएको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ।
हाल कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। यी प्रदेशका केही स्थानहरूमा तथा मधेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तातो दिन रहने सम्भावना रहेको छ।
आज राति देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।


