काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले थापाथली क्षेत्रको सुकुम्बासी बस्ती शनिबार र आइतबारभित्र खाली गराउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दानबहादुर कार्की र राजु अर्यालसहितका सुरक्षा प्रमुखहरूलाई बोलाएर यस्तो निर्देशन दिइएको हो। छलफलमा सहभागी एक सुरक्षा अधिकृतका अनुसार बागमती नदी किनारका बस्तीहरू निर्धारित समयभित्र खाली गराउने तयारी गरिएको छ।
निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौं र सुरक्षा निकायले आवश्यक तयारी सुरु गरिसकेका छन्। यसअघि पनि काठमाडौं महानगरपालिकाको नेतृत्वमा सुकुम्बासी बस्ती हटाउने प्रयास भएका थिए, तर संघीय सरकारको समन्वय अभावका कारण सफल हुन सकेका थिएनन्।
यसपटक प्रधानमन्त्रीको निर्देशनपछि महानगर र प्रशासनबीच समन्वय बढाइएको छ। प्रभावित बासिन्दालाई अस्थायी रूपमा स्थानान्तरण गर्ने, आवश्यक सूचना प्रवाह गर्ने तथा सुरक्षाको व्यवस्था मिलाउने तयारी भइरहेको जनाइएको छ।
काठमाडौं उपत्यकाका विभिन्न नदी किनार क्षेत्रमा हजारौं अव्यवस्थित बसोबासी रहेको अनुमान छ। तर वास्तविक सुकुम्बासीको पहिचान, प्रमाणीकरण र दीर्घकालीन व्यवस्थापनका विषयमा अझै चुनौती रहेको सरोकारवालाहरू बताउँछन्।
यस विषयमा कानुनी प्रक्रिया, मानवीय पक्ष र पुनर्वासको व्यवस्था सुनिश्चित गर्दै अघि बढ्नुपर्ने आवाजसमेत उठिरहेको छ।



