काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीलाई रेमिट्यान्सको स्रोतमा मात्र सीमित नराखी राष्ट्र निर्माणका सहनिर्माताका रूपमा स्थापित गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।
रास्वपाको प्रवास नेपाली सम्पर्क विभागले जारी गरेको विज्ञप्तिअनुसार विदेशमा रहेका नेपालीहरूको सीप, अनुभव, दृष्टिकोण र अन्तर्राष्ट्रिय नेटवर्कलाई नेपालको विकाससँग प्रत्यक्ष रूपमा जोड्ने लक्ष्यसहित अभियान सञ्चालन गरिनेछ ।
विभागले ‘प्रवास सदस्यता विस्तार अभियान’ सञ्चालन गर्ने जनाएको छ । यसमार्फत विदेशमा रहेका नेपालीलाई औपचारिक रूपमा पार्टीसँग आबद्ध गराउँदै कम्तिमा १० लाख सदस्य विस्तार गर्ने लक्ष्य राखिएको छ ।
त्यसैगरी, प्रवासी नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न ‘प्रोफाइल बैंक’ स्थापना गर्ने योजना अघि सारिएको छ । उक्त बैंकमार्फत नेपालमा लगानीका सम्भावना पहिचान गर्ने, विदेशमा हासिल गरिएका सीपको उपयोग गर्ने, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धन गर्ने तथा रोजगारी सिर्जनामा टेवा पुर्याउने लक्ष्य राखिएको छ ।
साथै, स्वदेश फर्कन चाहने लगानीकर्तालाई मार्गदर्शन प्रदान गर्ने र ‘प्रोफाइल बैंक’पछि ‘आइडिया बैंक’ सञ्चालनमा ल्याउने तयारीसमेत रहेको विभागले जनाएको छ ।


