काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले वैशाख १० गते बिहीबारसम्म तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो दिन तथा तातो लहर (हिट वेभ) को सम्भावना रहेको जनाएको छ। यस अवधिमा नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा मध्यम स्तरको तातो लहर चल्ने सम्भावना छ।
त्यस्तै मधेश प्रदेशका सबै भू–भाग, बाग्मती र गण्डकी प्रदेशका तराई तथा पहाडी क्षेत्रहरू, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भेग, खोच र उपत्यकाहरूमा समेत तातो दिन रहने अनुमान गरिएको छ। अन्य क्षेत्रहरूमा पनि तापक्रम क्रमशः बढ्ने देखिएको छ।
तातो हावा र तातो लहरका कारण थकान, कमजोरी, अत्यधिक तिर्खा, टाउको दुख्ने, खुट्टा बाउडिने, रिङ्गटा लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने र वान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने मौसमविद्को चेतावनी छ।
महाशाखाले गर्मीबाट जोगिन घरभित्र वा शीतल स्थानमा बस्न, चर्को घाममा बाहिर ननिस्कन, बाहिर निस्कनु परे टाउको छोप्न वा छाता प्रयोग गर्न, बिहान वा साँझको समयमा काम गर्न, हल्का कपडा लगाउन तथा प्रशस्त पानी र फलफूलको रस सेवन गर्न सुझाव दिएको छ। स्वास्थ्यमा समस्या देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यक सल्लाह लिन पनि आग्रह गरिएको छ।


