काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद र मन्त्रीहरूले पार्टीलाई बुझाउने ‘लेबी’ (शुल्क) को दर परिमार्जन गरेको छ। आइतबार बसेको सचिवालय बैठकले गरेको लेबी परिमार्जनसम्बन्धी निर्णयलाई सोमबार बसेको केन्द्रीय समिति बैठकले औपचारिक रूपमा अनुमोदन गरेको हो।
पार्टी प्रवक्ता मनिष झाका अनुसार, पार्टीको लेबी व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै नयाँ दररेट कायम गरिएको छ। यसअनुसार नयाँ शुल्क संरचना निम्नअनुसार छ:
-
सांसदहरू: यसअघि मासिक १६ हजार ५०० रुपैयाँ रहेको लेबी दरलाई घटाएर अब १५ हजार रुपैयाँ कायम गरिएको छ।
-
मन्त्रीहरू: मन्त्रीहरूको लेबी मासिक १८ हजार रुपैयाँ तोकिएको छ।
-
स्वकीय सचिव: मन्त्रीहरूका स्वकीय सचिवका लागि भने मासिक २ हजार रुपैयाँ लेबी निर्धारण गरिएको छ।
पार्टीको आर्थिक व्यवस्थापनलाई चुस्त बनाउने उद्देश्यले यो परिमार्जन गरिएको रास्वपाले जनाएको छ।


