काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दोस्रो चरणको वार्ताका लागि आफ्नो प्रतिनिधिमण्डल सोमबार बेलुकीसम्म इस्लामावाद पुग्ने घोषणा गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत ट्रम्पले आफ्नो टोली वार्ताका लागि इस्लामावादतर्फ प्रस्थान गरिसकेको र सोमबार साँझसम्म त्यहाँ पुग्ने बताएका हुन्। उनले यसपटक इरानलाई ‘उचित र निष्पक्ष’ प्रस्ताव दिइने उल्लेख गर्दै उक्त प्रस्ताव स्वीकार हुने विश्वास व्यक्त गरेका छन्।
यद्यपि प्रस्ताव अस्वीकार भएमा इरानका ऊर्जा संरचना र पुलहरू ध्वस्त पार्ने चेतावनी पनि ट्रम्पले दिएका छन्। उनले हर्मुज क्षेत्रमा जहाजमाथि गोलाबारी गरेर इरानले युद्धविराम उल्लङ्घन गरेको आरोपसमेत लगाएका छन्।
हर्मुज जलडमरु पुनः बन्द गर्ने इरानको घोषणालाई ‘हास्यास्पद’ भन्दै ट्रम्पले त्यसबाट इरानलाई नै ठूलो आर्थिक नोक्सानी भइरहेको दाबी गरेका छन्। उनका अनुसार दैनिक करिब ५० करोड डलर बराबरको क्षति इरानले बेहोर्नुपरेको छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार यसअघि पहिलो चरणको वार्तामा सहभागी भएको टोलीलाई नै पुनः इस्लामावाद पठाउने तयारी गरिएको छ। पहिलो वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, मध्यपूर्व दूत स्टिभ विटकोफ तथा ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नर सहभागी भएका थिए।
तर, अमेरिकी पक्षको घोषणापछि पनि इरान र पाकिस्तानले भने वार्ताबारे औपचारिक पुष्टि गरेका छैनन्। ट्रम्पको भनाइ सार्वजनिक भएपछि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले इरानी राष्ट्रपति मसुद पेजेस्कियनसँग टेलिफोन संवाद गरेका थिए भने दुवै देशका परराष्ट्रमन्त्रीबीच पनि छलफल भएको जनाइएको छ।
यद्यपि इरानी पक्षबाट वार्तामा सहभागी हुने स्पष्ट प्रतिबद्धता भने अहिलेसम्म सार्वजनिक भएको छैन।


