Sunday, April 19, 2026
Homeसुन्दर नेपालअन्नपूर्ण हिमालमा वसन्तयामको आरोहण सुरु, पहिलो टोलीद्वारा सफल शिखरारोहण

अन्नपूर्ण हिमालमा वसन्तयामको आरोहण सुरु, पहिलो टोलीद्वारा सफल शिखरारोहण

म्याग्दी । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्तयामको आरोहण सुरु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ क्षेत्रमा पर्ने यस हिमालमा पहिलो टोलीले सफलतापूर्वक शिखर चुम्दै सिजनको औपचारिक सुरुवात गरेको हो।

सेभेन समिट ट्रेकका लाक्पा शेर्पाको नेतृत्वमा सात जना नेपाली र पाँच जना विदेशी पर्वतारोहीले शनिबार शिखरमा पुग्न सफल भएका छन्। कम्पनीका अनुसार क्यानडाका चाल्र्स पेज, रुसका भालेरिय बाबानोभ, भ्लादिमिर अफानासेभ, युरी कुग्लोभ तथा अजरबैजानका इस्फार्ली असुर्लीले पनि आरोहण पूरा गरेका छन्।

नेपाली टोलीमा लाक्पासहित छेवाङ, दावा नर्बु, पासाङ दुुङपा, छाङुबा, तारामान र पासाङ शेर्पा सहभागी थिए। त्यसैगरी शनिबार बिहान नेदरल्यान्ड र अष्ट्रेलियाका दुई आरोहीसँगै एक शेर्पाले पनि सफलतापूर्वक शिखर चुमेको जानकारी मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले दिएका छन्।

“यसपटकको पहिलो टोलीले सफल आरोहण गरेसँगै आधार शिविर क्षेत्रमा चहलपहल बढ्न थालेको छ,” गुरुङले बताए।

पर्यटन विभागका अनुसार यस वर्ष अन्नपूर्ण आरोहणका लागि चार समूहका २७ जनाले अनुमति लिएका छन्, जसबाट एक करोड २० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। गत वर्ष वसन्तयाममा भने ६६ जनाले अनुमति लिएका थिए।

विश्वको दशौँ अग्लो हिमाल अन्नपूर्णमा यस सिजन विभिन्न कम्पनीमार्फत आएका आरोही तथा पर्यटकहरूको आधार शिविरमा उल्लेख्य चहलपहल देखिएको छ। सन् १९५० मा मौरिस हर्जोगले पहिलोपटक अन्नपूर्ण आरोहण गरेका थिए। त्यसको तीन वर्षपछि सन् १९५३ मा एडमण्ड हिलारीतेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेका थिए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका