Saturday, April 18, 2026
Homeसामाचारअसनको मौलिकता फर्काउन हरेक शनिबार ‘जीवन्त असन’ कार्यक्रम, सवारी निषेधसमेत लागू

असनको मौलिकता फर्काउन हरेक शनिबार ‘जीवन्त असन’ कार्यक्रम, सवारी निषेधसमेत लागू

काठमाडौं । काठमाडौंको ऐतिहासिक असन क्षेत्रको मौलिकता संरक्षण र पुनरुत्थानका लागि हरेक शनिबार विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ। वडा नं. २७ कार्यालयको नेतृत्वमा अन्नपूर्ण आरसीटी क्लब, स्थानीय क्लब, टोल सुधार समिति, गुठियार तथा सरोकारवालाको सहभागितामा कार्यक्रम सुरु गरिने जानकारी शुक्रबार आयोजित पत्रकार भेटघाटमा दिइएको हो।

महानगरपालिकाको सभा कक्षमा कार्यवाहक प्रमुख सुनिता डंगोलसहित आयोजित कार्यक्रममा प्रवक्ता नवीन मानन्धरले कार्यक्रमबारे जानकारी दिएका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गी र वडा नं. २५ का अध्यक्ष राजेश डंगोललगायतको उपस्थिति रहेको थियो।

कमलाक्षी चोक, भोटाहिटी र महाबौद्ध हुँदै असनसम्मका क्षेत्रमा कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रम हुने प्रत्येक शनिबार उक्त क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइनेछ।

महानगरपालिकाले मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण, संवर्धन र प्रवर्धनमा निरन्तर काम गरिरहेको जनाउँदै यस कार्यक्रमले काठमाडौंको सांस्कृतिक पहिचान, परम्परागत जीवनशैली र संस्कार–संस्कृतिको पुस्तान्तरणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

२०८३ वैशाख ५ गतेदेखि ‘जीवन्त असन’ नारासहित सुरु हुने यस अभियानले आधुनिकतासँगै हराउँदै गएको असन बजारको सांस्कृतिक र ऐतिहासिक स्वरूप पुनर्जीवित गर्ने लक्ष्य लिएको छ।

पछिल्लो समय बढ्दो भीडभाड र सवारी चापका कारण भित्री सहरमा व्यवस्थापन चुनौती बढ्दै जाँदा परम्परागत चिनारी हराउँदै गएको छ। नुनदेखि सुनसम्म पाइने बजार, परम्परागत उपचार प्रणाली र सांस्कृतिक अभ्यासहरू क्रमशः लोप हुँदै गएका छन्, जसले काठमाडौंको पहिचानमै असर पारिरहेको छ।

महानगरपालिकाले यस्ता कार्यक्रममार्फत समुदाय, गुठियार र सरोकारवालासँग सहकार्य गर्दै परम्परागत सम्पदाको संरक्षण र प्रवर्द्धनलाई अझ सशक्त बनाउने जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका