काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। शुक्रबार साँझ बोर्ड सञ्चालक समितिको बैठक बोलाएर उनले बैठकमै राजीनामा दिने निर्णय सुनाएका थिए। त्यसपछि उनी राति करिब ९ बजे अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।
अर्थ मन्त्रालय स्रोतका अनुसार श्रेष्ठले आफ्नो राजीनामा स्वेच्छिक रहेको बताएका छन्। उनले सरकारलाई सहयोग पुर्याउन र आवश्यक मार्ग प्रशस्त गर्न आफूले राजीखुसीले पद त्यागेको स्पष्ट पारेका थिए।
बैठकमा उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिन लागेको जानकारी गराएका थिए। बोर्डका एक उच्च अधिकारीका अनुसार उनले सबैलाई धन्यवाद दिँदै पदबाट बिदा लिएका हुन्।
सरकारले उनलाई २०८१ मंसिर १० गते बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो। यद्यपि, अध्यक्ष श्रेष्ठले राजीनामा दिनुको ठोस कारण सार्वजनिक रूपमा खुलाइएको छैन। “व्यक्तिगत कारण” उल्लेख गरिए पनि त्यसको विस्तृत विवरण बाहिर आएको छैन।


