काठमाडौं । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिका वा इजरायलको दबाबमा इरान नझुक्ने स्पष्ट बताएका छन्।
बुधबार तेहरानमा आपतकालीन सेवाका अधिकारीहरूसँग भएको बैठकमा उनले इरानी जनताले बाह्य दबाब स्वीकार नगर्ने बताए। “इरानी जनताले अमेरिका र इजरायलको यस्तो तरिका कहिल्यै स्वीकार गर्ने छैनन्,” उनले भने, “हामी सधैं विभिन्न देशहरूसँग राम्रो सम्बन्धको पक्षमा छौँ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दोस्रो चरणको वार्ताको सम्भावना व्यक्त गरिरहेका बेला पेजेश्कियानको यो प्रतिक्रिया आएको हो।
यसबीच, इरानी अधिकारीहरूले औपचारिक रूपमा वार्ताबारे प्रत्यक्ष टिप्पणी गरेका छैनन्। राज्य सञ्चालित समाचार एजेन्सी इरनाले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै इरानलाई थप वार्ताबारे “कुनै जानकारी नभएको” जनाएको छ।


