काठमाडौँ । सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै म्याद थपसम्बन्धी कागजात पेश गर्न आदेश दिएको छ।
बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले ललितपुर जिल्ला अदालतबाट म्याद थपका लागि खडा गरिएको पर्चा, राजस्व अनुसन्धान विभागको अनुरोधपत्र तथा थुनामा राख्नुको कारणसहितको लिखित जवाफ बिहीबार १२ बजेसम्म पेश गर्न निर्देशन दिएको हो।
खड्का सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका छन्। आदेशअनुसार, राजस्व अनुसन्धान विभागको चैत ३० गतेको पत्रका आधारमा ललितपुर जिल्ला अदालतले तेस्रो पटक तीन दिनको म्याद थप गरेको अप्रमाणित पत्र सरकारी वकिलमार्फत इजलासमा पेश भएको उल्लेख गरिएको छ।
यदि म्याद थप गर्दा थप पर्चा खडा गरिएको भए, सो कागजातसमेत संलग्न गरी तोकिएको समयभित्र अदालतमा पेश गर्न सर्वोच्चले भनेको छ।
साथै, सर्वोच्च अदालतले राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतसँग खड्कालाई थुनामा राख्नुको कारण स्पष्ट पार्ने लिखित जवाफसमेत झिकाउन आदेश दिएको छ।


