पोखरा । नयाँ वर्ष २०८३ को अवसरमा शान्ति सुरक्षा कायम गर्न कास्की प्रहरीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ अन्तर्गत १८ जना व्यक्ति र ४१ वटा सवारी साधन कारबाहीमा परेका छन्।
मादक पदार्थ तथा लागू औषध सेवन गरी हो–हल्ला गर्ने, सवारी साधनको स्वरूप परिवर्तन गरेर ध्वनि प्रदूषण फैलाउने तथा सार्वजनिक शान्तिमा खलल पुर्याउने गतिविधि बढेको जनगुनासोपछि प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार वैशाख १ गते दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म पोखराका विभिन्न रणनीतिक स्थानमा प्रहरी परिचालन गरिएको थियो।
अभियानअन्तर्गत पोखरा महानगरपालिकाका काहुडाँडा, चाउथे, मेथलाङ र बेगनास क्षेत्रबाट मादक पदार्थ तथा लागू औषध सेवन गरी सवारी चलाउने र उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ।
काहुडाँडाबाट ८ जना व्यक्ति र १० वटा सवारी साधन, चाउथेबाट ९ वटा सवारी साधन, मेथलाङबाट ५ जना व्यक्ति र १३ वटा सवारी साधन तथा बेगनास क्षेत्रबाट ८ वटा सवारी साधन कारबाहीमा परेका छन्। साथै, बेगनास क्षेत्रमा लागू औषध सेवन गरी सवारी चलाउने एक चालकसहित अन्य ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सबै व्यक्ति र सवारी साधनमाथि आवश्यक अनुसन्धान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ। साथै, सवारी साधन मोडिफाइ गरी चर्को आवाज निकाल्ने र सडकमा स्टन्ट गर्नेहरूमाथि विशेष निगरानी बढाइएको जनाइएको छ।


