Friday, April 17, 2026
Homeअन्तराष्ट्रियइरान नाकाबन्दीमा ट्रम्प एक्लिँदै— नेटो राष्ट्रहरू सहभागी नहुने

इरान नाकाबन्दीमा ट्रम्प एक्लिँदै— नेटो राष्ट्रहरू सहभागी नहुने

लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका बन्दरगाहहरूमा नाकाबन्दी गर्ने योजना अघि सारे पनि नेटो आबद्ध राष्ट्रहरूले त्यसमा साथ नदिने स्पष्ट पारेका छन्।

युद्ध समाप्त भएपछि मात्रै हस्तक्षेप गर्ने प्रस्ताव राख्दै बेलायत र फ्रान्स लगायतका देशहरूले ट्रम्पको सैन्य अभियानमा सहभागी हुन अस्वीकार गरेका छन्। यसले पश्चिमी सैन्य गठबन्धनभित्रको मतभेदलाई थप गहिरो बनाएको छ।

इरानसँग ६ हप्ता लामो द्वन्द्व अन्त्य गर्न भएका वार्ता असफल भएपछि ट्रम्पले सोमबारदेखि नाकाबन्दी सुरु भएको घोषणा गरेका थिए। उनले नाकाबन्दी तोड्ने कुनै पनि इरानी जहाजलाई अमेरिकी सेनाले ध्वस्त पार्ने चेतावनी दिएका छन्।

सुरुमा ‘स्ट्रेट अफ होर्मुज’ हुँदै आवतजावत गर्ने सबै जहाज रोक्ने भनिए पनि पछि अमेरिकी सेनाले नाकाबन्दी इरानी बन्दरगाहमा आउने–जाने जहाजमा मात्रै लागू हुने स्पष्ट पारेको छ। यो जलमार्ग विश्वको करिब पाँचौँ हिस्सा तेल आपूर्तिसँग सम्बन्धित मानिन्छ।

ट्रम्पले अन्य देशहरू पनि नाकाबन्दीमा सहभागी हुने दाबी गरे पनि नेटोका प्रमुख सदस्यहरूले त्यसलाई अस्वीकार गरेका छन्। बेलायती प्रधानमन्त्री केयर स्टार्मरले युद्धमा नतानिने स्पष्ट अडान लिएका छन् भने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युद्धपछि मात्र सुरक्षित जलयात्राका लागि बहुराष्ट्रिय मिसन सञ्चालन गर्ने प्रस्ताव अघि सारेका छन्।

यसबीच, नेटोका महासचिव मार्क रुट्टेले युरोपेली देशहरूलाई ट्रम्पले सैन्य सहयोग खोजेको जानकारी गराए पनि सदस्य राष्ट्रहरूले इरानसँग सहमति भएपछि मात्रै कदम चाल्ने बताएका छन्।

टर्कीका विदेशमन्त्री हाकान फिदानले कूटनीतिक समाधानमै जोड दिँदै आगामी शिखर सम्मेलनमार्फत ट्रम्प र नेटोबीचको सम्बन्ध पुनः परिभाषित गर्नुपर्ने बताएका छन्।

यसैबीच, फ्रान्सको पहलमा बेलायतसहित करिब ३० देशले जलमार्गमा ढुवानी सुरक्षाका लागि स्वतन्त्र मिसन गठन गर्ने तयारी गरेका छन्, जसले कुनै पनि पक्ष नलिई केवल ट्याङ्करहरूको सुरक्षा सुनिश्चित गर्नेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका