काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ।
राष्ट्रपतिको कार्यालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम शुक्रबार (चैत २७) दिउँसो ३:०० बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको हो। राष्ट्रपतिले बैठकमा सहभागी हुन दुवै सदनका सदस्यहरुलाई आह्वान पनि गर्नुभएको छ।
यसैबीच, राष्ट्रपति पौडेलले आज राति १२:०० बजेदेखि लागू हुनेगरी सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गर्नुभएको छ। संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को चैत २४ गतेको सिफारिसका आधारमा अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
उल्लेखनीय छ कि सङ्घीय संसद्को चालु अधिवेशन चैत १९ गतेदेखि प्रारम्भ भएको थियो।


