काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गर्दैछन्। सरकार गठनपछि विदेशी कूटनीतिज्ञहरूसँग यसरी सामूहिक संवाद गर्न लागिएको यो पहिलोपटक हो।
आज मध्याह्न १२ बजेपछि हुने छलफलमा शिशिर खनाल समेत सहभागी हुनेछन्। देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले यो संवाद आयोजना गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भारत, चीन, अमेरिका, जापान र बेलायत लगायत एक दर्जनभन्दा बढी देशका राजदूतहरूलाई प्रधानमन्त्री कार्यालयमा आमन्त्रण गरिएको छ।
गत चैत १३ गते पदभार सम्हालेका प्रधानमन्त्री शाहले विभिन्न दूतावासहरूबाट शिष्टाचार भेटका लागि आएको अनुरोधलाई व्यक्तिगत रूपमा स्वीकार नगरी सामूहिक संवादको माध्यम रोजेका हुन्।
यसअघि नयाँ प्रधानमन्त्रीहरूले पद सम्हालेलगत्तै राजदूतहरूसँग छुट्टाछुट्टै भेट गर्ने अभ्यास रहँदै आएको थियो। तर उक्त अभ्यासप्रति आलोचना हुँदै आएकाले यसपटक त्यसलाई परिवर्तन गर्ने प्रयास गरिएको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार विगतमा कूटनीतिक मर्यादाभन्दा बाहिर गएर राजदूतहरूको अत्यधिक पहुँच देखिएको भन्दै अब त्यसमा सुधार गरिनेछ।
उनका अनुसार परराष्ट्रमन्त्री खनालसहितको यो सामूहिक संवादले नेपालको कूटनीतिक अभ्यासमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।


