सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन हुने उक्त महोत्सव यही चैत २५ गतेदेखि २७ गतेसम्म आयोजना गरिने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
सप्तकोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुका साथै स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार र लोपोन्मुख कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष अङ्गत राईले बताए।
महोत्सव अवधिभर मौलिक सांस्कृतिक नृत्य तथा झाँकी प्रदर्शन गरिनुका साथै कोशी टप्पु वन्यजन्तु आरक्षमा वन्यजन्तु तथा चरा अवलोकन, रामधुनी मन्दिर दर्शन तथा बोराबाँधमा सूर्यास्त अवलोकन गराउने कार्यक्रम तय गरिएको सहसंयोजक भविश श्रेष्ठले जानकारी दिए।
साँझको समयमा लाखे नाच र धान नाच प्रस्तुत गरिनेछ। महोत्सवको अन्तिम दिन चैत २७ गते आन्तरिक तथा बाह्य पर्यटकलाई वराहक्षेत्र मन्दिर दर्शन गराइनेछ। त्यसपछि बोराबाँधसम्म ¥याफ्टिङ, जेट बोट, एटिभी राइडिङ, नौका सयर तथा बगर खेलकुदजस्ता साहसिक गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ।
महोत्सवमा नेपालका विभिन्न स्थान, भारतसहित अन्य मुलुकका पर्यटक तथा विशिष्ट अतिथिको सहभागिता रहने अपेक्षा गरिएको छ। आगन्तुकहरूका लागि स्थानीय अर्गानिक परिकारको व्यवस्था गरिनेछ।
पर्यटन कार्यालय धरानका अधिकृत केशव फुयाँलले यस्ता कार्यक्रमले कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै कोशी किनारको पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।


