काठमाडौँ, १९ चैत । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्ने तय गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल ले चैत १६ गते मन्त्रिपरिषद्को सिफारिसमा संविधानबमोजिम आजका लागि सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्तिसहित सम्पूर्ण तयारी पूरा भइसकेको छ। राष्ट्रियसभाको बैठक भने सङ्घीय संसद् सचिवालयस्थित आफ्नै कक्षमा बस्नेछ।
संविधानअनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संसद् अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। निर्वाचन आयोगले चैत ५ गते अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको थियो।
२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा (एमाले) का २५, नेकपा का १७, श्रम संस्कृति पार्टीका सात, राप्रपाका पाँच र एक स्वतन्त्र सांसद रहेका छन्।
पहिलो बैठकमा तीन अध्यादेश
आजको बैठकमा तीन वटा अध्यादेश पेस हुने सम्भावित कार्यसूची छ। गृहमन्त्री सुधन गुरुङ ले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने कार्यक्रम रहेको छ।
बैठकको प्रारम्भमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी विवरण पढेर सुनाउनुहुनेछ।
साथै, प्रतिनिधिसभाले नयाँ नियमावली नबनाएसम्मका लागि हालको प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार कामकारबाही सञ्चालन गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।
बैठकमा सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गरिनेछ भने विभिन्न दलका सांसदहरूले अधिवेशन प्रारम्भको अवसरमा मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ।
यसै बैठकबाट सभामुख पदको निर्वाचनका लागि मिति तोकिनेछ।
शोक प्रस्ताव पनि प्रस्तुत हुने
बैठकको अन्त्यमा सभामुखले संविधानसभा तथा संसद्का पूर्व सदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र बलदेव बोहोराप्रति श्रद्धाञ्जलिस्वरूप शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।


