Thursday, May 7, 2026
Homeराजनीतिभोलिदेखि संघीय संसद् अधिवेशन सुरु, सभामुख–उपसभामुख चयन मुख्य एजेन्डा

भोलिदेखि संघीय संसद् अधिवेशन सुरु, सभामुख–उपसभामुख चयन मुख्य एजेन्डा

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो संघीय संसद् अधिवेशन भोलि (बिहीबार)देखि सुरु हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुईतिहाइ बहुमत प्राप्त गरेपछि सुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चासोका साथ हेरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संविधानबमोजिम संघीय संसद्को दुवै सदनको अधिवेशन बिहीबार दिउँसो २ बजेका लागि आह्वान गरेका हुन्। प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा बस्नेछ भने राष्ट्रियसभाको बैठक पुरानो भवनमा सञ्चालन हुनेछ। यो राष्ट्रियसभाको २०औँ अधिवेशन हो।

१८ वर्षपछि प्रतिनिधिसभा सिंहदरबारस्थित संसद् भवनमा फर्किएको छ। यसअघि २०६४ सालमा संविधानसभा गठनपछि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन सञ्चालन हुँदै आएको थियो।

संविधानअनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संसद् अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। निर्वाचन आयोगले चैत ५ गते राष्ट्रपतिसमक्ष अन्तिम प्रतिवेदन बुझाएपछि अधिवेशन आह्वान गरिएको हो।

संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका लागि आवश्यक भौतिक, प्राविधिक र सुरक्षा तयारी पूरा भइसकेको छ। संसद्मा सत्तापक्ष दाहिनेतर्फ, प्रतिपक्ष बायाँतर्फ र बीचमा सरकार रहने गरी बसाइँ व्यवस्था मिलाइएको छ।

यस अधिवेशनको मुख्य कार्यसूची सभामुख र उपसभामुख चयन हुनेछ। संविधानअनुसार पहिलो बैठक सुरु भएको १५ दिनभित्र यी दुवै पद चयन गर्नुपर्ने व्यवस्था छ। सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गबाट हुनुपर्ने प्रावधान पनि रहेको छ।

प्रतिनिधिसभामा २७५ सदस्य छन्, जसमा रास्वपाका १८२, नेपाली कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७, राप्रपाका ५ र एक स्वतन्त्र सांसद रहेका छन्। लैङ्गिक हिसाबले १७९ पुरुष र ९६ महिला सांसद छन्।

अधिवेशनमा संघीय निजामती ऐन, प्रहरी ऐन, विद्यालय शिक्षा लगायत महत्वपूर्ण विधेयक प्रस्तुत गरी पारित गर्ने कार्यसूची पनि रहनेछ। साथै, राष्ट्रपति पौडेलले संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था रहेको छ।

संघीय संसद्ले कानुन निर्माण, सरकार गठन, बजेट पारित, संविधान संशोधन, अन्तर्राष्ट्रिय सन्धि अनुमोदन तथा सरकारको कामको निगरानी गर्ने प्रमुख जिम्मेवारी वहन गर्दछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका