काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको संयुक्त प्रभाव रहेको छ। यसको असरका कारण देशका विभिन्न भागमा मौसम आंशिकदेखि सामान्य बदली भएको छ।
हाल बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली छ भने तराई क्षेत्रहरूमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थान तथा कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ।
आज दिउँसो हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान छ। कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थान तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहनेछ। साथै कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।


