सर्लाही । सत्ताको आडमा वर्षौंदेखि अवैध रूपमा सञ्चालन हुँदै आएको बसबरिया गाउँपालिका–३, कोठियारस्थित अभिनित वासिङ्ग उद्योग तथा अभिनित ढुंगा क्रसर उद्योग अन्ततः बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार दिउँसो प्रशासनले उक्त उद्योग बन्द गराएको हो।
देशभर अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योग बन्द गराउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। कानुन र मापदण्ड विपरीत दर्ता नभएका, नवीकरण नगरेका तथा अनुमति नलिई सञ्चालन भइरहेका ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा प्रशोधन कार्यमा संलग्न उद्योगहरू तत्काल बन्द गर्न परिपत्र जारी गरिएको थियो। सोही निर्देशनअनुसार सर्लाहीमा पनि प्रहरी टोली खटिएर उद्योग बन्द गरिएको हो।
सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईका अनुसार उक्त क्रसर उद्योग अवैध रूपमा सञ्चालन भइरहेको पाइएकाले बन्द गराइएको हो।
यसअघि पनि प्रशासनले पटक–पटक अनुगमन गरी उद्योग बन्द गराए पनि राजनीतिक संरक्षणका कारण पुनः सञ्चालन हुँदै आएको थियो। गत वर्ष बन्द गराइएपछि उद्योग सञ्चालकले राति क्रसर चलाउने र दिउँसो बन्द राख्ने गरेको पाइएको थियो।
यसपटक भने उद्योग पुनः सञ्चालन हुन नदिन विद्युत् लाइन नै काटिएको जनाइएको छ। बस्ती नजिक सञ्चालनमा रहेको उक्त उद्योगबाट निस्कने धुलो र प्रदूषणका कारण स्थानीयवासी प्रभावित हुँदै आएका थिए। साथै, नजिकै रहेको एक विद्यालयसमेत लामो समयदेखि प्रभावित भई बन्दजस्तै अवस्थामा पुगेको स्थानीयले बताएका छन्।


