काठमाडौं । इरान–इजरायल–अमेरिका द्वन्द्वमा मध्यस्थता गरिरहेका पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दार घाइते भएका छन्। इस्लामाबादमा आयोजित एक उच्चस्तरीय बैठकका क्रममा लड्दा उनको काँधमा फ्र्याक्चर भएको जनाइएको छ।
घटना आइतबार पाकिस्तानको विदेश मन्त्रालय परिसरमा भएको हो। इशाक दार इजिप्टका विदेशमन्त्रीलाई स्वागत गर्ने क्रममा रातो कार्पेटमा हिंड्दै गर्दा चिप्लिएर लडेका थिए। सो क्रममा उनको काँध र खुट्टामा चोट लागेको बताइएको छ।
उनका छोरा अली दारले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै काँधमा ‘हेयरलाइन फ्र्याक्चर’ भएको बताएका छन्। चोटका बाबजुद पनि इशाक दारले दिनभर दुखाइ कम गर्ने औषधि सेवन गर्दै सबै महत्वपूर्ण बैठकमा सहभागिता जनाएको उनले उल्लेख गरेका छन्।
हेयरलाइन फ्र्याक्चर हड्डीमा देखिने सानो चिरा हो, जसले हड्डीलाई पूर्ण रूपमा भाँच्दैन तर उचित उपचार नभए गम्भीर बन्न सक्छ। यस्तो चोट निको हुन सामान्यतया ४ देखि ८ हप्तासम्म लाग्ने चिकित्सकहरूले बताएका छन्।
उक्त बैठकमा पाकिस्तान, साउदी अरेबिया, टर्की र इजिप्टका विदेशमन्त्रीहरू सहभागी थिए। यो बैठक इरानसँगको द्वन्द्व कम गर्ने उद्देश्यले गरिएको क्षेत्रीय कूटनीतिक प्रयासको हिस्सा हो।
इरान युद्धमा तटस्थ रहेको दाबी गर्दै पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ। इस्लामाबादले अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता सहज बनाउन सन्देश आदानप्रदानको काम गरिरहेको बताइएको छ। साथै, पाकिस्तानले अमेरिकाको प्रस्ताव इरानसमक्ष राख्दै वार्ता प्रक्रियालाई अघि बढाउने प्रयास गरिरहेको छ।


