गाडीको ब्लुबुक किर्ते गरेको आरोपमा प्रहरीले काठमाडौंको शान्तिनगरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर बताउने कमलबावु भट्ट छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले भट्टलाई सोमबार साँझ शान्तिनगर स्थित नरेन्द्रकान्छा चोकबाट पक्राउ गरेको हो । उनको फ्ल्याटबाट प्रहरीले ५ बोरा फर्जी ब्लुबुक र सर्टिफिकेट बरामद गरेको छ । भट्टबारे अनुसन्धान भइरहेको अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।
भट्ट वीरगञ्जको जग्गा किर्ते मुद्दामा पनि फरार छन् । वीरगञ्ज महानगरपालिका–५ स्थित मुख्य सडकसँग जोडिएको स्वर्गीय कमल देवी भण्डारीको ५ कठ्ठा १५ धुर र ९ कन्वामा बनेको घरसहितको जग्गा भट्टको समूहले किर्ते गरेर नामसारी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
सो मुद्दामा जिल्ला अदालत पर्साले मालपोत कार्यालय पर्साका प्रमुख सुमन झा, जग्गा कारोबारी विश्वास तिवारी र मुख्य योजनाकार केवल प्रताप जबरा समेत ५ जनालाई ०७७ पुस २ मा पुर्पक्षमा राख्ने आदेश गरेको थियो ।
भन्सार छलेर गाडी काठमाडौँ ल्याइ कारोबार गर्ने कार्यमा समेत संलग्न रहेको आरोपमा प्रहरीले मधु सिलवाल, अरुण खड्का र रेवती रमण निरौलालाई पनि पक्राउ गरेको छ । प्रहरीले भन्सार छली भएका २ गाडी पनि बरामद गरेको छ ।


