सुर्खेत । १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीका अनुसार बुधबार अनुसन्धान प्रतिवेदन बुझाइएको हो। प्रतिवेदनमा मुख्य अभियुक्तका रूपमा घटनास्थलबाट पक्राउ परेका एक किशोरविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी कसुरमा जन्मकैदको माग गरिएको छ।
अन्य तीन किशोरविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन माग गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई घटनापछि पीडितलाई समयमै अस्पताल नपुर्याएको आरोपमा जिम्मेवार ठहर गरिएको छ।
प्रहरीले डीएनए, मोबाइल फरेन्सिक र टक्सिकोलोजी रिपोर्ट नआउँदै प्रतिवेदन बुझाएको हो। एसपी शाहीका अनुसार केही परीक्षण नेपालमा सम्भव नभएकाले नमूना विदेश पठाइएको र रिपोर्ट आउन बाँकी रहेको छ। ती रिपोर्टपछि मृत्युको कारण अझ स्पष्ट हुने उनले बताए।
फागुन २३ गते बिहान ट्युसन पढ्न निस्केकी इनिशा वीरेन्द्रनगर नगरपालिका–१ स्थित सामुदायिक वन क्षेत्रमा मृत फेला परेकी थिइन्। प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको उल्लेख गरिएको थियो।
घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरीले अलग–अलग रूपमा गरेका थिए।
परिवारले भने अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै शव बुझ्न अस्वीकार गरेका छन्। हालसम्म १९ दिनदेखि शव कर्णाली प्रादेशिक अस्पतालमा राखिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतका प्रमुख कर्णबहादुर महतले प्रतिवेदन अध्ययन भइरहेको र आवश्यक परे फिर्ता पठाउन सकिने बताए। अध्ययनपछि मात्र कसलाई कुन अभियोग लगाउने भन्ने विषय सार्वजनिक गरिने उनले जानकारी दिए।
घटनापछि देशव्यापी विरोध प्रदर्शन भएको थियो भने निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही गर्न माग उठेको थियो।


