काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दिएको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा अस्वीकार गरेको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा पेश गरेका थिए। तर सानेपामा बसेको केन्द्रीय समिति बैठकले उक्त राजीनामा अस्वीकार गर्ने निर्णय गरेको हो।
प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिअनुसार वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा थापाको नेतृत्व आवश्यक रहेको ठहर गर्दै राजीनामा अस्वीकार गरिएको हो। बैठकले निर्वाचन पराजयका कारणहरू व्यक्तिगत नभई संरचनागत, प्रणालीगत तथा परिस्थितिजन्य रहेको निष्कर्ष निकालेको छ।
त्यस्तै, राजीनामा स्वीकार गर्दा पार्टीभित्र अस्थिरता र कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेको, साथै सामूहिक जिम्मेवारीको सिद्धान्तलाई ध्यानमा राखेर नेतृत्व निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको बैठकको निष्कर्ष छ।
बैठकले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको २७ बुँदे प्रारम्भिक समीक्षा प्रतिवेदनलाई परिमार्जनसहित पारित गरेको छ। समीक्षा अनुसार गुटबन्दी, आन्तरिक असहयोग, गठबन्धन सरकारको कमजोर कार्यसम्पादन, संरचनागत समस्या र नयाँ पुस्ताको असन्तोषजस्ता कारणले निर्वाचन परिणाम प्रभावित भएको उल्लेख गरिएको छ।
नेपाली कांग्रेस अब आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित हुने निर्णय गरिएको छ। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन, विधान संशोधन, संगठनात्मक पुनर्संरचना तथा भावी रणनीति तय गरिने जनाइएको छ।
साथै, बैठकले पार्टी एकता सुदृढ गर्दै संगठन पुनर्निर्माणमा लाग्न सम्पूर्ण कार्यकर्तालाई आह्वान गरेको छ।
बैठकले मध्यपूर्वको युद्ध अन्त्यको अपेक्षा गर्दै त्यहाँ रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेको छ। साथै, जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरिएको छ।
कार्यसमितिको बैठकले दिवंगत नेताहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ।


