काठमाडौं । दाङ जिल्लाबाट विभिन्न राजनीतिक दलले पाँच जनाको नाम समानुपातिक सांसदका लागि सिफारिस गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दाङबाट सुरेन्द्र चौधरी, क्रान्तिशिखा धिताल र खिमा विकको नाम सिफारिस गरेको छ। सुरेन्द्र चौधरी दाङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार रहेका योगेन्द्र चौधरीका सहोदर दाजु हुन्।
उक्त क्षेत्रमा रास्वपाका देवराज पाठक विजयी भएका थिए। पाठकले ४२ हजार ६०२ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले १५ हजार २८० मत प्राप्त गरेका थिए। योगेन्द्र चौधरी नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्रीसमेत हुन्।
योगेन्द्र चौधरी प्रत्यक्षतर्फ उम्मेदवार रहेका बेला उनका सहोदर दाजु सुरेन्द्र चौधरीलाई रास्वपाले समानुपातिक उम्मेदवार बनाएको थियो। फरक–फरक दलबाट उम्मेदवार बनेपछि दाजु–भाइबीचको सम्बन्ध चिसिएको पारिवारिक स्रोतले जनाएको छ।
रास्वपाबाट समानुपातिक सांसदका लागि सिफारिस भएकी क्रान्तिशिखा धिताल तुलसीपुरकी हुन् भने खिमा विक दंगीशरणकी हुन्।
त्यसैगरी नेकपा (एमाले) ले दाङ घोराहीकी मुस्लिम महिला साजिदा सिद्दिकीको नाम समानुपातिकतर्फ सिफारिस गरेको छ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टीले भीमकुमारी बुढाको नाम आफ्नो पार्टीको तर्फबाट निर्वाचन आयोगमा सिफारिस गरेको जनाएको छ।


