वासिङ्टन डीसी । अमेरिकाले आफ्ना नागरिकलाई तत्काल इराक छाड्न आग्रह गरेको छ। इराकस्थित अमेरिकी दूतावासले त्यहाँ रहेका अमेरिकी नागरिकलाई “तत्काल देश छाड्न” चेतावनी दिएको हो।
दूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै इरानसँग सम्बन्धित सशस्त्र समूहहरूबाट सुरक्षा जोखिम बढेको जनाएको छ। दूतावासका अनुसार यस्ता समूहहरूले इराकमा सार्वजनिक सुरक्षामाथि ठूलो खतरा उत्पन्न गरेका छन्।
यसअघि पनि अमेरिकी नागरिक, अमेरिकी हित तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरेर आक्रमण भएका घटनाहरू रहेको दूतावासले उल्लेख गरेको छ।
चेतावनीमा अमेरिकी नागरिकलाई इराकमै बसिरहन सोचिरहेका भए पनि आफ्नो निर्णय पुनर्विचार गर्न भनिएको छ। साथै, अहिलेको सुरक्षा अवस्थाका कारण बगदादस्थित अमेरिकी दूतावास वा एर्बिलस्थित वाणिज्य दूतावासमा नआउन पनि आग्रह गरिएको छ।
शनिबार भएको एक आक्रमणमा दूतावास परिसरसमेत प्रभावित भएको बताइएको छ। उक्त घटनापछि क्षेत्रमा सुरक्षा सतर्कता अझ कडा बनाइएको छ।
दूतावासका अनुसार हाल इराकको आकाश क्षेत्रमा रकेट, ड्रोन र मोर्टार आक्रमणको जोखिम उच्च रहेको छ। त्यसैले अमेरिकी नागरिकलाई सम्भव भएसम्म चाँडो इराक छाड्न सल्लाह दिइएको हो।


