Friday, May 8, 2026
Homeसामाचारएनआरएनएलाई विश्वभरका नेपालीको साझा प्लेटफर्म बनाउँछु’ : अध्यक्षका प्रत्याशी डा. हेमराज शर्मा

एनआरएनएलाई विश्वभरका नेपालीको साझा प्लेटफर्म बनाउँछु’ : अध्यक्षका प्रत्याशी डा. हेमराज शर्मा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि उम्मेदवारी दिएका डा. हेमराज शर्माले संस्थालाई अझ व्यापक र समावेशी बनाउँदै विश्वभर रहेका नेपालीलाई नेपालसँग थप सशक्त रूपमा जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एनआरएनएको १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका सन्दर्भमा नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले आफ्नो उम्मेदवारी, प्राथमिक एजेन्डा, संस्थाको वर्तमान अवस्था तथा भावी योजनाबारे विस्तारमा धारणा राखेका छन्।

डा. शर्माका अनुसार एनआरएनएको औपचारिक निर्वाचन प्रक्रिया सुरु भइसकेको छ र यसपटक आफू सबैको साझा अध्यक्षका रूपमा अघि बढ्दै संस्थालाई एकताबद्ध बनाउने लक्ष्यका साथ उम्मेदवारी दिएको बताए।

उनले गैरआवासीय नेपाली संघ सन् २००३ मा स्थापना हुँदा विदेशमा बसोबास गर्ने लाखौं नेपालीलाई एकताबद्ध गर्दै नेपालको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्य राखिएको स्मरण गरे। उनका अनुसार हालसम्म करिब ९० देशमा संस्थाको औपचारिक सञ्जाल विस्तार भइसकेको छ।

“हाम्रा अग्रजहरूले ठूलो मेहनत गरेर संस्था स्थापना गर्नुभयो। धेरै उपलब्धि पनि हासिल भएका छन्। तर संस्थागत रूपमा जति धेरै गैरआवासीय नेपालीलाई जोड्नुपर्ने हो, त्यो अझै हुन सकेको छैन,” उनले भने।

उनका अनुसार विदेशमा बस्ने नेपालीमध्ये हाल करिब एक लाख मात्रै संघसँग आबद्ध छन्, जुन कुल संख्याको करिब दुई प्रतिशत मात्र हो। विशेषगरी पेशागत व्यक्तिहरू, दोस्रो पुस्ताका नेपाली र महिलाको सहभागिता अपेक्षाकृत कम रहेको उनले बताए।

संस्थागत सुदृढीकरण पहिलो प्राथमिकता

डा. शर्माले आफ्नो नेतृत्वमा एनआरएनएलाई संस्थागत रूपमा अझ सुदृढ बनाउने मुख्य लक्ष्य रहेको बताए। उनका अनुसार पहिले संस्थालाई नै बलियो बनाउँदै अधिकतम गैरआवासीय नेपालीलाई संघसँग जोड्न सकेपछि मात्रै नेपालका लागि प्रभावकारी काम गर्न सकिनेछ।

उनले युवाहरू, महिलाहरू, विद्यार्थी र श्रमिकहरूलाई लक्षित विशेष कार्यक्रम ल्याउने योजना रहेको बताए। “हाम्रा अग्रजहरूले विगत दुई दशकमा नेपालका लागि धेरै काम गर्नुभयो। तर हामीले अपेक्षा अनुसार सबैलाई जोड्न सकेका छैनौं,” उनले भने।

नागरिकता र मताधिकारमा जोड

गैरआवासीय नेपाली नागरिकता र विदेशमा बस्ने नेपालीको मताधिकारको विषय लामो समयदेखि उठ्दै आएको भए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको उनले बताए। उनका अनुसार यस विषयमा संसद् र सरकारको प्राथमिकता पनि आवश्यक हुन्छ।

“मताधिकारको विषय पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा निकै उठेको थियो। तर अझै कार्यान्वयन हुन सकेको छैन,” उनले भने, “कानुन निर्माण गर्ने विषय संसद्को अधिकार क्षेत्रभित्र पर्छ।”

हालको कानुनी व्यवस्थाअनुसार गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था भए पनि त्यसबाट प्राप्त हुने अधिकारहरू स्पष्ट रूपमा अन्य कानुनले मान्यता नदिएको समस्या रहेको उनले बताए। अध्यागमन, मालपोत लगायतका निकायमा पनि कानुनी सुधार आवश्यक रहेको उनको भनाइ छ।

प्रविधिमार्फत मतदान सम्भव

मताधिकारको विषय समाधान गर्न प्रविधिको प्रयोग गर्न सकिने उनले बताए। “अनलाइन मतदान प्रणाली अहिले प्रविधिगत रूपमा सम्भव छ। फेस भेरिफिकेसनजस्ता प्रणाली प्रयोग गरेर सुरक्षित र विश्वसनीय मतदान गराउन सकिन्छ,” उनले भने।

विदेशमा रहेका नेपालीबारे ‘ह्वाइट पेपर’ ल्याउने योजना

एनआरएनएको भावी नेतृत्वमा पुगेपछि विदेशमा रहेका नेपालीहरूको अवस्था, समस्या र सम्भावनाबारे विस्तृत अध्ययन गरी ‘ह्वाइट पेपर’ सार्वजनिक गर्ने योजना रहेको उनले बताए।

उनका अनुसार विश्वका ११० भन्दा बढी देशमा रहेका नेपालीहरूको अवस्थाबारे स्पष्ट अध्ययन भएपछि मात्रै प्रभावकारी नीति बनाउन सकिनेछ। विशेषगरी मध्यपूर्व र पूर्वी युरोपका देशहरूमा रहेका श्रमिक नेपालीहरू विभिन्न समस्यामा परेको उनले उल्लेख गरे।

युवापुस्तालाई जोड्ने योजना

डा. शर्माले एनआरएनएको भविष्य दोस्रो पुस्ताका नेपालीसँग जोडिएको भन्दै युवाहरूलाई संस्थासँग जोड्न विशेष कार्यक्रम ल्याउने बताए। विदेशमा जन्मेका र हुर्केका नेपाली मूलका युवाहरूलाई नेपालसँग भावनात्मक र पेशागत रूपमा जोड्न इन्टर्नशिप, ओरिएन्टेसन, खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताए।

“हाम्रो पुस्ता त नेपालसँग स्वाभाविक रूपमा जोडिएको छ, तर दोस्रो पुस्तालाई कसरी जोड्ने भन्ने नै अबको मुख्य चुनौती हो,” उनले भने।

एकताको सन्देश

एनआरएनएभित्र पछिल्ला वर्षहरूमा देखिएको विभाजनबारे बोल्दै डा. शर्माले आफ्नो नेतृत्वमा संस्थालाई एकताबद्ध बनाउन सकिने विश्वास व्यक्त गरे। आफू कुनै राजनीतिक दलसँग प्रत्यक्ष रूपमा आबद्ध नभएकाले सबै पक्षसँग संवाद गर्न सहज हुने उनले बताए।

“म दुई दशकदेखि संस्थामा सक्रिय छु र धेरै साथीहरूसँग व्यक्तिगत सम्बन्ध पनि छ। त्यसैले सबैलाई मिलाएर अघि बढ्ने प्रयास गर्नेछु,” उनले भने।

उनले आगामी महाधिवेशनबाटै एकताको सन्देश जाने विश्वास व्यक्त गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको पनि बताए। सबै पक्ष मिलेर अघि बढ्न सके एनआरएनए अझ सशक्त बनेर विश्वभरका नेपालीलाई नेपालसँग जोड्ने प्रभावकारी माध्यम बन्न सक्ने उनले विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका