Friday, May 8, 2026
Homeसामाचारसर्लाहीमा स्कारपियोले जन्तीलाई ठक्कर दिँदा एकको मृत्यु, ११ जना घाइते

सर्लाहीमा स्कारपियोले जन्तीलाई ठक्कर दिँदा एकको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१० सितापुरमा शुक्रबार साँझ स्कारपियोले जन्ती आएका मानिसलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार साँझ करिब ७ बजे बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको डिएल ९ सिजेड ०७७७ नम्बरको स्कारपियोले विवाहमा सहभागी जन्तीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले स्कारपियो र चालक बरहथवा नगरपालिका–१२ लौकठ निवासी करिब ४० वर्षीय नरेश ठाकुरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बरहथवामा राखेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका बरहथवा नगरपालिका–९ निवासी करिब ५० वर्षीय नारायण जर्गा मगरलाई उपचारका लागि नगर अस्पताल बरहथवा लगिएको थियो। तर राति करिब ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घाइतेमध्ये रौतहटको दोस्तिया पिपरिया निवासी ७० वर्षीय कमल पटेलको टाउकोमा गम्भीर चोट लागेको छ र उनको हनुमन्त अस्पताल बरहथवामा उपचार भइरहेको छ। त्यसैगरी रौतहट गढीमाई नगरपालिका–११ निवासी ४५ वर्षीया बन्धना पटेल बेहोस अवस्थामा सोही अस्पतालमा उपचाररत छन्।

अन्य घाइतेहरूमा बरहथवा–१० निवासी १८ वर्षीय रुपेश मण्डल, १५ वर्षीया प्रतिमा कुमारी पटेल, १९ वर्षीय दिलिप राय, २३ वर्षीय चन्दन पासवान, १२ वर्षीया दीपिका जैसवाल, २० वर्षीय रामजी राय, २३ वर्षीय मुकेश राउत, ५५ वर्षीय रामनारायण ठाकुर र ४५ वर्षीया गुलाब कुमारी मण्डल रहेका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका