काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा नेपाली कांग्रेस को नतिजा अत्यन्तै निराशाजनक देखिएको छ।
अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ५७ सिट जित्दै पहिलो दल बनेको कांग्रेस यसपटक भने निकै कमजोर अवस्थामा पुगेको छ। हालसम्मको परिणाम अनुसार कांग्रेसले १४ स्थानमा मात्र विजय हासिल गरेको छ भने केही सिटमा अग्रता कायम गरेको छ।
देशभरबाट प्राप्त पछिल्लो मतपरिणामले कांग्रेस नेतृत्वलाई झस्काएको छ। ‘रूख’ चुनाव चिन्हमा भोट खस्ने क्रम उल्लेख्य रूपमा घटेको र परम्परागत गढहरू भत्किएको संकेत नतिजाले देखाएको छ।
नतिजा निराशाजनक भए पनि भौगोलिक उपस्थितिको हिसाबले भने कांग्रेसले सन्तुलन कायम गरेको छ। सीमित सिट जिते पनि सातै प्रदेशबाट प्रतिनिधित्व सुनिश्चित गरेको छ।
कुन प्रदेशमा कति सिट ?
हालसम्मको परिणाम अनुसार:
-
कोशी प्रदेश – ३ सिट
-
मधेस प्रदेश – १ सिट
-
बागमती प्रदेश – १ सिट
-
गण्डकी प्रदेश – २ सिट
-
लुम्बिनी प्रदेश – २ सिट
-
कर्णाली प्रदेश – ४ सिट
-
सुदूरपश्चिम प्रदेश – २ सिट
कोशी प्रदेश अन्तर्गत पाँचथर–१ बाट नरेन्द्र कुमार केरुङ र तेह्रथुम–१ बाट सन्तोष सुब्बा निर्वाचित भएका छन्।
मधेस प्रदेशमा कांग्रेसलाई ठूलो धक्का लागे पनि रौतहट–२ बाट मो. फिरदोस आलम विजयी हुँदै पार्टीको प्रतिनिधित्व सुनिश्चित गरेका छन्।
बागमती प्रदेशमा रसुवाबाट मोहन आचार्य निर्वाचित भएका छन्।
गण्डकी प्रदेशका हिमाली जिल्लामा कांग्रेसले आफ्नो गढ जोगाएको छ। मुस्ताङबाट २९ वर्षीय युवा योगेश गौचन थकाली र मनाङबाट टेकबहादुर गुरुङ विजयी भएका छन्।
लुम्बिनी प्रदेशमा कपिलवस्तु–३ बाट अभिषेक प्रताप शाह र पाल्पा–१ बाट सन्दीप राना निर्वाचित भएका छन्।
कर्णाली प्रदेशमा कांग्रेसको उपस्थिति सबैभन्दा बलियो देखिएको छ। सुर्खेत–१ बाट विष्णुबहादुर खड्का, जाजरकोट–१ बाट खड्कबहादुर बुढा, दैलेख–१ बाट वासना थापा र हुम्ला–१ बाट जयपति रोकाया विजयी भएका छन्।
सुदूरपश्चिम प्रदेशमा डोटी–१ बाट भरतबहादुर खड्का र अछाम–१ बाट भरतकुमार स्वार विजयी भएका छन्।
जारी मतगणनामा सोलुखुम्बु र बाजुरासहित केही क्षेत्रमा कांग्रेसले अझै अग्रता कायम राखेको छ।


